मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा, ३ सय ६० डिजिटल बीमा सुरु


काठमाडौँ
मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३ सय ६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । यो योजना अब खल्ती एपमार्फत सहज रूपमा उपलब्ध हुनेछ, जसले वित्तीय सुरक्षा अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

बीमा सेवा लिन अब जटिल प्रक्रिया वा लामो समय कुर्नुपर्ने आवश्यकता नपर्ने जनाइएको छ । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको ‘सुरक्षा ३ सय ६०’ योजना केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया कम गर्दै र चरणलाई सरल बनाउँदै, दैनिक रूपमा धेरै नेपालीले प्रयोग गर्ने डिजिटल प्लेटफर्ममार्फत सहज अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

‘सुरक्षा ३ सय ६०’ले जीवन तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण सुरक्षण एउटै योजनाभित्र समेटेको छ, जसले ग्राहकलाई फरक–फरक बीमा योजना व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्त बनाउँछ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ ।

जीवन र स्वास्थ्यसँग सम्बन्धित आर्थिक जोखिमलाई समग्र रूपमा सम्बोधन गर्ने उद्देश्यसहित ल्याइएको यो योजना सिल्वर, गोल्ड र प्ल्यातिनम गरी तीन वटा प्याकेजमा उपलब्ध छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त योजना छनोट गर्न सक्नेछन् । २३ लाखदेखि ४६ लाख रुपियाँसम्मको बीमा सुरक्षण उपलब्ध रहेको यस योजनाको वार्षिक बीमाशुल्क छनोट गरिएको प्याकेज अनुसार ३ हजार ८ सय १० बाट सुरु हुने भएकाले १८ देखि ५० वर्ष उमेर समूहका धेरै नेपालीका लागि समग्र बीमा सुरक्षण अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरिएको छ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत, अरुणबहादुर बस्नेतले भन्नुभयो, “सुरक्षा ३ सय ६० ले जीवनका विभिन्न चरणमा ग्राहकलाई आवश्यक वित्तीय सुरक्षण प्रदान गर्नेछ । विश्वसनीय डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई सहज बनाउँदै, अझ धेरै नेपालीलाई वित्तीय सुरक्षातर्फ सचेत र जिम्मेवार कदम चाल्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो ।”