नर्भिकद्वारा एकीकृत क्यान्सर संस्थान स्थापना घोषणा, उत्कृष्ट नर्स र कर्मचारी सम्मानित


काठमाडौँ। 

नर्भिक ईन्टरनेशनल अस्पतालले नेपालमै पहिलोपटक निजी क्षेत्रबाट एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गर्ने घोषणा गरेको छ। अस्पतालले सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ले नर्भिक क्यान्सर ईन्टिच्यूट  स्थापना गरिने राजेन्द्र बहादुर सिंहले जानकारी गराउनुभयो ।  

अस्पतालका  संचालक मेघा चौधरीका अनुसार  नेपालमा क्यान्सर रोगको उपचारका लागि “एकै छानामुनि समग्र सेवा” को अभाव लामो समयदेखि रहँदै आएको अवस्थामा त्यसलाई सम्बोधन गर्ने उद्देश्यले संस्थान स्थापना गर्न लागिएको हो। प्रस्तावित संस्थानले क्यान्सर रोगको निदान, उपचार, अनुसन्धान तथा पुनः स्थापना सेवा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखेको छ।

संस्थानमा विश्वस्तरीय मापदण्डअनुसार उन्नत प्रविधिको प्रयोग गरी निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडिएसन थेरापी तथा प्यालिएटिभ केयर सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। बालबालिकादेखि वृद्धवृद्धासम्मका बिरामीलाई लक्षित गरी मेडिकल, सर्जिकल, रेडिएसन, हेमाटोलोजी तथा जेरियाट्रिक सेवा उपलब्ध गराइने बताइएको छ।

चौधरीका अनुसार संस्थानमा अनुसन्धान तथा शैक्षिक गतिविधिलाई पनि प्राथमिकतामा राखिनेछ। क्यान्सर मनोविज्ञान, जेनोमिक्सलगायतका विषयमा अन्तर्राष्ट्रिय विश्वविद्यालय र शिक्षण संस्थासँग सहकार्य गरी अनुसन्धान कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।

क्यान्सर उपचार क्षेत्रमा भइरहेका नवीनतम प्रविधि र अभ्यास नेपालमा भित्र्याउन अमेरिका, सिंगापुर तथा भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रसँग सहकार्य गरिने अस्पतालले जनाएको छ। चिकित्सक र वैज्ञानिकबीच ज्ञान आदानप्रदान तथा प्रविधि हस्तान्तरणलाई समेत प्राथमिकता दिइने अस्पतालको भनाइ छ।

अस्पतालकी सञ्चालकले बिरामी र तिनका परिवारले उपचारका क्रममा देश तथा विदेशका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले संस्थान स्थापना गर्न लागिएको बताइन्। “यो केवल व्यावसायिक परियोजना मात्र होइन, दीर्घकालीन संस्थागत प्रतिबद्धता र देशप्रतिको जिम्मेवारी पनि हो,” भन्नुभयो ।

अस्पतालका अनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ लागतमा निर्माण हुने परियोजना तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपालमा पर्याप्त एकीकृत क्यान्सर सेवा नहुँदा धेरै बिरामी उपचारका लागि विदेश जान बाध्य भइरहेका छन्। यसबाट वर्षेनी ठूलो रकम बाहिरिने गरेको भन्दै अस्पतालले संस्थान सञ्चालनमा आएपछि स्वदेशमै विश्वस्तरीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ।

यसैबीच, अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्भिक अस्पतालले उत्कृष्ट नर्स तथा कर्मचारीलाई सम्मान गरेको छ। अस्पतालले अमेरिकास्थित डेजी फाउण्डेसनसँगको सहकार्यमा चार जना नर्सलाई ‘डेजी अवार्ड’ प्रदान गरेको हो।

अवार्ड प्राप्त गर्ने नर्सहरूमा सम्झना तामाङ, निलिमा श्रेष्ठ, अञ्जली गोले र रोनिशा पाण्डे रहेका छन्। बिरामी, बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक तथा अन्य कर्मचारीबाट प्राप्त मनोनयनका आधारमा उत्कृष्ट नर्स छनोट गरिएको अस्पतालले जनाएको छ।

उत्कृष्ट १० भित्र पर्न सफल सिर्जना धामी, सुजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जनलाई पनि सम्मान गरिएको थियो।

त्यसैगरी, १० वर्षभन्दा बढी समयदेखि नर्भिकमा कार्यरत २१ जना नर्स र २७ जना प्यारामेडिक्सलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेमध्ये रञ्जिता लिम्बु, सुष्मा श्रेष्ठ, सबिना केसी, शिला शिल्पकार नकर्मी, साधना श्रेष्ठ, रामबाबु ठाकुर, अरविन्द कुमार शाह, कविना शाही, केशवराज शर्मा खनाल, इश्वर गौतम, कृष्णकुमारी श्रेष्ठ, जानुका पन्त, मीनाकुमारी उपाध्याय र सरीता रेश्मी मगर लगायत रहेका छन्।

सोही अवसरमा नर्भिक कलेज अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजी का उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी दिका बस्नेत र मौनता पोखरेललाई पनि सम्मान गरियो ।