जेनजी विद्रोहपछि भएको प्रतिनिधिसभाको निर्वाचनले धेरै कुराको सन्देश दिएको छ । सर्वप्रथम भाद्र २३ गते जुन जेनजी विद्रोह भएको थियो त्यसलाई यो निर्वाचनले अनुमोदन गरेको छ । इतिहास बोकेका भनिएका जिम्मेवार पुराना राजनीतिक दलहरुले लोकतन्त्र र प्रजातन्त्रको नाममा जनतामाथि शोषण गरेका थिए भन्ने जेनजी असन्तुष्टिलाई आसन्न निर्वाचनले पुष्टि गरिदिएको छ ।
राजनीतिमा दम्भ, अहंकार, स्वेच्छाचारिता स्वीकार्य हुँदैन भन्ने तथ्यलाई यसले साकार बनाइदिएको छ । राजनीतिमा सर्वसत्तावादलाई अब स्थान छैन भन्ने मात्र होइन, हिजोको दिनमा अन्तिमसम्म त्यस्ता चरित्रलाई साथ दिने र अवस्था परिवर्तन हुनासाथ ‘हामी त सच्चियौं है’ भन्ने खहरे प्रकृतिको दलिललाई पनि स्वीकारिँदो रहेनछ भन्ने तथ्य पुष्टि भएको छ ।
अब सक्कली सुशासन, दाग नलागेको प्रशासन, जिम्मेवार नेतृत्व, ठोस कार्यनीति, दूरदर्शी रणनीतिसहितको नेतृत्वको मात्र आवश्यकता छ भन्ने नेपाली मतदाताको चाहना रहेको देखिन्छ । पुराना राजनीतिक दलहरुमा आफूले खोजेको कुशल नेतृत्व जनताले देखेनन्, त्यसकारण नयाँ दलमा त्यो सम्भावना देखेर विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ मतका साथ विजय गराइदिएका छन् । पुराना दलहरुलाई सच्चिनको लागि पाँच वर्ष लामो फुर्सदको समय प्रदान गरेका छन् ।
हिजो काठमाडौँ महानगरपालिकाका मेयरलाई काम गर्न अवरोध गर्ने उद्देश्यले कार्यकारी प्रमुखलगायतका विषयमा सरकारले गरेको बेइमानी व्यवहारको हिसाबकिताब पूरै नेपाली मतदाताले राम्रोसँग राखेका रहेछन् । हिजो आफ्नो राजनीतिक स्वार्थसिद्ध गराउनको लागि रास्वपा सभापति रवि लामिछानेलाई मुद्दैमुद्दा सृजना गरेर समाप्त पार्न खोजेको घटनालाई नेपाली मतदाताले राम्रैसँग मूल्यांकन गरिरहेका रहेछन् ।
हिजो प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाइलहरु खोलेर थोरै भए पनि मुलुकमा सुशासन प्रत्याभूत गर्न खोज्दा उल्टै करिब दुई तिहाइको शक्ति सञ्चय गरेर संदिग्ध व्यक्तिहरुलाई नै सरकारमा राखी जनभावनाको हुर्मत लिन खोजेको घटनाहरुको पनि नेपाली मतदाताले राम्रै हिसाबकिताब राखेका रहेछन् ।
त्यसैले आसन्न निर्वाचनमा यसविरुद्धको मत सुनामीको रुपमा नै आयो, जसले कुरीति र कुसंस्कारको पातपतिङ्गर पनि बाँकी नरहने गरी सफाया गरिदियो । पुराना राजनीतिक दलहरुमा सबै नराम्रा थिए भन्ने होइन, त्यहाँ पूर्ण इमानदार र जनताको अधिकारप्रति प्रतिबद्ध त्यागी नेताहरु पनि थिए । तर उनीहरुलाई पनि नेपाली मतदाताले मतियारको संज्ञा दिएर अस्वीकार गरिदिए । पक्कै जनता जनार्दन नै रहेछन् । पक्कै निर्वाचन भनेको जनताको विवेक परीक्षण गर्ने भरपर्दो मेसिन रहेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको अगाध विश्वास र पुराना दलहरुप्रतिको तीव्र अविश्वास नेपाली जनताले आफ्नो मतको विद्रोहमार्फत प्रकट गरिदिए । हार कस्तो हुन्छ भन्ने नबुझेका दम्भीहरुलाई लज्जास्पद हारको पगरी नै पहिराइदिए । नेपाली जनताले आफ्नो मतबाट नै परिवर्तनको उद्घोष गरिदिए । जेनजी आन्दोलनले एउटा सन्देश दिन खोजेको थियो तर त्यसको लागि मुलुकले ठूलो मात्रामा मानवीय तथा भौतिक सम्पत्तिको क्षति व्यहोर्नुपरेको थियो । तर आज त्योभन्दा ठूलो आन्दोलन भएको छ, मत परिवर्तनको ।
मत परिवर्तनको आन्दोलनले दलहरुको दम्भ र अहंकारलाई परास्त गरिदिएको छ । मत परिवर्तनको यो आन्दोलनले विश्व राजनीतिमा नै एउटा नौलो सन्देश प्रदान गरेको छ । अब संसारमा दम्भ र अहंकार कतै टिक्नेवाला छैन ।
हिजोसम्म स्थायित्वको लागि संविधान संशोधन गर्नु अत्यावश्यक ठानिएको थियो । हाम्रो निर्वाचन प्रणाली ठीक भएन, यस्तो प्रणालीमा कुनै दलले सामान्य बहुमत पनि ल्याउन सक्दैन भनेर संविधान संशोधन गर्नुपर्छ भन्नेहरुको भ्रमलाई यो निर्वाचनले तोडिदिएको छ । जनताले आवश्यक ठाने भने बहुमत मात्र होइन, दुई तिहाइ नै आउँछ भन्ने राम्रो सन्देश प्राप्त भएको छ ।
हुन त संविधानका अन्य व्यवस्थाहरुमा पनि संशोधन र परिवर्तन गर्नुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । प्रदेश खारेजीको कुरा पनि उठिरहेको छ । संघीयता मुलुकको लागि घाँडो भन्ने भाष्य स्थापित गर्ने प्रयासहरु पनि भइरहेका छन् । निर्वाचनले संघीयताको खारेजी होइन, यसको उचित व्यवस्थापनको कुरालाई स्थापित गरिदिएकोृ छ । संघीयता खारेज होइन, यसको सुधारको आवश्यकता हो । संघीयतालाई सुदृढ गराउनको लागि राजनीतिक संस्कारमा व्यापक सुधारको खाँचो छ ।
संघीयता कुर्सीमा पुग्न, ओहोदा ओगट्नको लागि होइन, मुलुक बनाउनको लागि प्रयोग गर्नुपर्दछ । आज संघीयता बदनाम हुनुमा वा यसप्रति वितृष्णा बढ्नुमा संघीयतालाई नेताको व्यवस्थापनको लागि मात्र प्रयोग गर्न खोजिएको कारणले नै हो । भुल्नुहुँदैन, संघीयतालाई उचित रुपमा प्रयोग गरियो भने यसले नै मुलुकको समानुपातिक विकास सम्भव हुनेछ ।
संविधानसभाबाट निर्मित संविधान आफैंमा उत्कृष्ट संविधान हो भन्ने कुराको पुष्टि आसन्न निर्वाचनले गरिदिएको छ । खराब र विकृतिहरुलाई जनताले एकसाथ बढार्न सक्छन् भन्ने सन्देश दिएको छ । हिजोको विकृतिलाई एक झड्कामा बढार्ने नेपाली जनताले भोलि कुनै गैरजिम्मेवार शक्तिको उदय हुन पुग्यो भने त्यसलाई झन् कुन प्रकारले समाप्त पारिदिनेछन् भन्ने कुराको सन्देश नेपाली जनताले भाद्र २३ र फागुन २१ गतेको घटनाहरुबाट उद्घोष गरिसकेका छन् । तसर्थ अब बन्ने सरकारले प्रत्येक पाइला गम्भीर भएर चाल्नु आवश्यक छ ।
फागुन २१ को निर्वाचनमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएका होइनन्, जनादेश दिएका हुन् । मुलुकलाई सही ढंगबाट अघि बढाऊ, मुलुकमा गरिखाने अवस्थाको सृजना गर, नेपालीको श्रम नेपालकै विकासमा खर्च गर्न सक्ने वातावरणको सृजना गर भनेका हुन् । रास्वपाको बाचापत्रमा लेखिएका प्रत्येक बाचाहरु बिहान उठ्नासाथ एकपटक अध्ययन गर र दिनभर त्यसको कार्यान्वयनको लागि आफूलाई समर्पित गर भन्ने जनताको आदेश हो ।
तिमीलाई सुस्त हिँड्ने छुट छैन, दुई वर्षमा बन्ने सडक डेढ वर्षमा बन्नुपर्छ भन्ने बालेनको उद्घोषको विश्वास हो । भ्रष्टलाई दण्डित गर्ने मात्र होइन, तिमी कुनै पनि बहानामा भ्रष्ट हुँदैनौ भन्ने जनताको विश्वास हो । तिमी युवा हौ, प्रविधिको विकास गर्छौ, प्रविधिमा नै टेकेर अघि बढ्छौ भन्ने विश्वास हो । पक्कै नयाँ सरकारले जनताको तीव्र आकांक्षालाई पूरा गर्नुपर्नेछ । सुशासनको प्रत्याभूति गर्नुपर्ने भएको छ ।
हिजो देखिएका कुर्सीको लागि लुछाचुँडीको राजनीतिक संस्कारको अन्त्य भएको सन्देश दिनुपर्ने भएको छ । विगतमा भएका भ्रष्टाचारजन्य अपराधहरुलाई अब दोहोरिन दिनुहुँदैन भन्ने मात्र होइन, विगतमा भएका भ्रष्टाचारहरुको निर्मम तरिकाले छानबिन गरी शीघ्र कानुनको दायरामा ल्याउनुपर्ने भएको छ । अभियान यस्तो चाल्नुपर्नेछ, भ्रष्टाचार गरी अकूत कमाएका व्यक्तिहरुले स्वघोषणा गरी आफ्नो सम्पत्ति राष्ट्रियकरणको लागि स्वअभियान अघि बढाऊन् ।
जेनजी आन्दोलनमा भएको दमन र लुटपाटको सम्बन्धमा छानबिन गर्न बनेको आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्था छ । अब बन्ने सरकारले कुनै पनि खाले राजनीतिक आग्रह–पूर्वाग्रहको एकरति छनक नदिई अपराध गर्नेहरुलाई कुनै हालतमा माफी दिनुहुँदैन भन्ने छ । यसमा सरकारको कस्तो भूमिका रहन्छ ? त्यसले नै अब बन्ने सरकारको भविष्य निर्धारण हुनेछ ।
रास्वपाले भुल्नुहुँदैन आसन्न निर्वाचनमा नेपाली जनताले रास्वपाले राम्रो गरेको थियो, त्यसैले भोट दिए । जनताले रास्वपाले राम्रो गर्छ भन्ने विश्वासमा मत दिएका हुन् । हिजो मत दिएकाहरु रास्वपाका न कार्यकर्ता थिए, न सदस्य नै थिए । रास्वपालाई अन्य दलका धेरैभन्दा धेरै कार्यकर्ता तथा सदस्यहरुले मत दिएका थिए । मत दिँदैमा व्यक्ति आफ्नो सदस्य हुँदैन । हिजोको अवस्था भनेको अर्काको श्रीमान् वा श्रीमतीलाई दोस्रोको श्रीमान् वा श्रीमतीले मन पराएको वा आकर्षित भएको मात्र हो ।
उनीहरुले आफ्नोसँग न पारपाचुके गरिसकेका छन्, न झगडा नै गरेका छन् अर्थात् हिजोका मतदाताहरुले न पुरानो पार्टी त्याग गरिसकेका छन्, न नयाँ पार्टीमा समाहित भइसकेका छन् । उनीहरुले मत मात्र परिवर्तन गरेका हुन् । उनीहरुको मन परिवर्तन गराउनको लागि अब बन्ने सरकारले इमानदारीपूर्वक अहोरात्र कार्य गर्नुपर्नेछ । सानो मात्र त्रुटि, कमजोरी हुन गयो भने हिजो मत परिवर्तन गरेका मतदाताहरुले आफ्नो मन तुरुन्त परिवर्तन गर्नेछन् । कथंकदाचित जनताको ढल्किएको आफ्नो मन परिवर्तन गर्नुपर्ने अवस्था आयो भने राज्यले भीषण विद्रोहको सामना गर्नुपर्ने हुन सक्छ ।
नेपाली जनताको लागि विश्वासको अन्तिम आधार नै अब बन्ने बालेन सरकार हुनेछ । यो सरकार पनि चुक्यो भने जनतामा दलतन्त्र र लोकतन्त्रप्रति कुनै पनि विश्वास बाँकी रहनेछैन । अनि त्यो विद्रोहले राजतन्त्र आउला भन्ने आशा गर्नेहरुलाई केही ललीपप त देला, तर त्यो पनि मित्थ्या हुनेछ । त्यसपछि मुलुक अन्धकारमा जाकिनेछ । तसर्थ मुलुकको भविष्य अब बन्ने सरकारको सुझबुझमा भर पर्छ ।
भुल्नुहुँदैन, आज बालेनप्रति नागरिकमा जुन विश्वास छ त्योभन्दा कैयौँ गुणा ठूलो विश्वास र भरोसा हिजोका नेताहरुमाथि थियो । हिजोका नेताहरुको आफ्नै इतिहास छ । उनीहरुले बेलामा मुलुकको लागि आफूलाई समर्पित नगरेका पनि होइनन् । उनीहरुले आफ्नो ज्यानको बाजी ठोकेर संघर्ष पनि गरेका थिए । आजसम्मको परिवर्तनको लागि उनीहरुले आफ्नो जीवन अर्पेका पनि हुन् ।
तर सत्तामा पुगेपछि उनीहरुले आफ्नो वास्तविक धरातल बिर्सिए, जिम्मेवारी बिर्सिए अनि आफू नागरिक हुँ, नागरिकबाट नै आएको नागरिकको प्रतिनिधि हुँ भन्ने पनि बिर्सिए । हिजो राम बनेकाहरु आफ्नो कर्मले क्रमशः रावण बन्दै गरेको उनीहरुले पत्तो नै पाएनन्, न उनीहरुका शुभचिन्तक र सल्लाहाकारहरुले उनीहरुलाई आफ्नो स्वरुप परिवर्तन हुँदै गरेको बारेमा बुझाउने प्रयास गरे । दुःख लाग्छ, उनीहरु रावण बन्दै गर्दा कैयौँ विभिषणहरुले पनि अनाहकमा कुम्भकर्णको नियती भोग्न बाध्य भए ।
आत्मानुभूति हुनै पर्दछ, अब बन्ने सरकारमा जाने नेताहरुको योगदान इतिहासमा प्रायः शून्य नै छ । यद्यपि जनताले विश्वास गरेका छन् । जनताको विश्वास भनेको उनीहरु इमानदार हुन्छन्, हिजो राम थिएनन् होला तर भोलि कदापि रावण बन्दैनन् भन्ने रहेको छ । यो वास्तविकताको बोध अब बन्ने सरकारले बुझेन भने सरकार असफल मात्र हुँदैन, पूर्ण निरंकुश र स्वेच्छाचारी पनि हुन पुग्छ ।
परिवर्तनले जति सम्भावना देखाएको छ त्यति नै जोखिमको पनि संकेत बढाएको छ । तसर्थ अब बन्ने सरकारले इमानको टोपी गुथेर, जिम्मेवारीको भाव बोकेर, जनताको वास्तविक सेवक हुँ भन्ने सम्झेर, शतप्रतिशत इमानदार भएर कार्य गर्नुपर्ने हुन्छ । अब बन्ने बालेन सरकार इमानदार मात्र भएर हुँदैन, सक्षम र सशक्त पनि बन्नुपर्दछ ।
रास्वपाप्रति जनताको माया छ, विश्वास छ तर आजसम्म नभोगेको कारण आशंका पनि उत्तिकै छ । तसर्थ रास्वपाका जिम्मेवार नेताहरुले दिनको एकपटक आफ्नो बाचापत्र अध्ययन गर्नु र त्यो बाचा पूरा गर्न अहोरात्र इमानदारीपूर्वक अघि बढ्नुपर्छ । त्यसपछि जनताको विश्वास मात्र होइन, सधैँ साथ रहनेछ ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)












प्रतिक्रिया