काठमाडौँ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ स्थित गौडाखोलामा वर्षासँगै आएको आकस्मिक बाढीका कारण अलपत्र परेका ७ जनाको सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
जेठ ३१ गते बेलुका पौडी खेल्न गएका उनीहरू खोलामा एक्कासी पानीको बहाव बढेपछि किनारमै फसेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा खटिएको टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो।
झण्डै एक घण्टासम्म चलेको उद्धार कार्यमा रोप रेस्क्यु विधि प्रयोग गरी सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार गरिएकामा भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय महेश हलुवाई, २४ वर्षीय रोहित साह, २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २८ वर्षीया एजिना न्यौपाने, २३ वर्षीया अनिषा न्यौपाने र ३६ वर्षीय राजु पाठक रहेका छन्।
उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। वर्षायाममा नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सतर्क रहन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।











प्रतिक्रिया