काठमाडौं ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) यसपटक तेस्रोमा खुम्चिएको छ ।
निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एमालले समानुपातिकतर्फ झन्डै आधा हिस्सा गुमाउँदै अब बन्ने संसद्मा तेस्रो दल हुने स्थिति बनेको हो । अघिल्लो पटक समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको थियो । यसपटक १४ लाख ५५ हजार ८ सय ८५ मत ल्याएको आयोगले जनाएको छ ।
२०७९ सालको निर्वाचनमा एमालेको तर्फबाट प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसदको प्रतिनिधित्व भएको थियो । आयोगको अद्यावधिक विवरणअनुसार आगामी संसद्मा एमालेको २५ सांसदको प्रतिनिधित्व रहने देखिएको छ, जसमा प्रत्यक्षबाट ९ र समानुपातिकबाट १६ जनाको प्रतिनिधित्व रहने छ ।
अघिल्लो निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ स्थानमा जित हासिल गरेको थियो । एमालेले यसपटक ताप्लेजुङ, इलाम–२, संखुवासभा, धनकुटा, बाँके–२, दैलेख–२, अछाम–२, बझाङ, दार्चुलामा गरी ९ स्थानमा जित हासिल गरेको थियो ।
आयोगका अनुसार नेकपा एमाले ४१ स्थानमा निकटतम प्रतिस्पर्धी अर्थात् दोस्रो बनेको थियो । एमाले झापा–२, ४, ५, तेह्रथुम, भोजपुर, मोरङ–२, खोटाङ, उदयपुर–२ मा दोस्रो बनेको थियो ।
त्यसै गरी सिराहा–३, रौतहट–१, बारा–४, पर्सा–१, दोलखा, रामेछाप, सिन्धुली–१, धादिङ–१, भक्तपुर–२, मकवानपुर–२, लमजुङ, कास्की–२, नवलपुर–२, मुस्ताङ, म्याग्दीमा पनि दोस्रो बनेको थियो । गुल्मी–१ र २, पाल्पा–१, अर्घाखाँची, रूपन्देही–२, ४, ५, रूकुमपूर्व, दाङ–२ मा पनि एमाले दोस्रो बनेको थियो । बाँके–३, बर्दिया–१, डोल्पा, मुगु, कालिकोट, दैलेख–१, सुर्खेत–१, बाजुरा, डोटीमा पनि दोस्रो बनेको थियो । निर्वाचन परिणामअनुसार एमाले ६२ ठाउँमा तेस्रो भएको छ भने ४२ स्थानमा चौथो भएको थियो ।
मोरङ–५, उदयपुर–१, सप्तरी–४, रौतहट–२, नवलपरासी बर्दघाट सुस्तापूर्व–२, कैलाली–३ गरी ६ ठाउँमा पाँचौं बनेको थियो । मधेस प्रदेशअन्तर्गत सप्तरी–२, महोत्तरी–३, सर्लाही–२ मा एमाले सातौं भएको थियो । एमालेले यो निर्वाचनमा झापा, मोरङ, सुनसरीलगायत तराई–मधेसको ठूलो मताधार गुमाएको थियो ।
काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रको मताधार गुमाएको छ । ती स्थानका निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूलाई धरौटी जोगाउन पनि गा¥हो भएको थियो ।
झापा–१, झापा–३, मोरङ–३, ४, ५, ६, सुनसरी–१, २, ४, सप्तरी–२, ३, ४, सिराहा–२, ४, महोत्तरी १, २, ३, सर्लाही १, २, ३, रौतहट–२, ३, ४, बारा–३, काठमाडौं–१, २, ३, ५, ७, ८, ९, १०, भक्तपुर–१, ललितपुर–२, ३, चितवन–२, ३, गोरखा–१, २, तनहुँ – १, रूपन्देही–१, ३, कपिलवस्तु–२, दाङ–१, नवलपरासी–१, २, कैलाली–१, ३, डडेलधुरा गरी ४९ स्थानमा एमालेको जमानत जफत भएको छ ।
उम्मेदवारी दर्ता गर्दा आयोगलाई बुझाइएको १० हजार रुपियाँ दस्तुर कुल सदर मतको १० प्रतिशत नकटाउनेले फिर्ता पाउँदैनन् ।












प्रतिक्रिया