समाचार प्रभावले उपचारमा सहयोग हुने

1.03k
Shares

उदयपुर ।

नेपाल समाचारपत्रको फागुन २४ गतेको अंकमा चौथो पेजमा प्रकाशित डा. रुइतलाई भेट्न नसक्दाको चिन्ता शिर्षकको समाचारका कारण उदयपुरका एक आँखा नदेख्ने ८ वर्षिय बालकको उपचारमा सहयोग पुग्ने भएको छ ।

नेपाल समाचारपत्रको २४ गतेको अंकमा डा.रुइतलाई भेट्न नसक्दाको चिन्ता शिर्षकको समाचार प्रकाशन भएपछि काडमाण्डौको गौशालास्थित तिलगंगा आँखा अस्पतालको ध्यानाकर्षण भएको छ ।

उक्त समाचार पढेपछि डा. रुइतको सचिवालयका केदार आचार्यले उदयपुरस्थित सम्वाददाता माधव पोखरेलसँग सम्पर्क गरी डा. रुइतलाई भेट्न चाहने आँखाको समहस्या भएका बालकका पिता उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का लाल बहादुर बिश्वकर्मालाई तिलगंगा आँखा अस्पतालमा सम्पर्क गर्न पठाउन अनुरोध गरेका छन् ।

दलित परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएको र दैनिक ज्याला मजदुरी गरेर साँझ विहानको छाक टार्दै दुई पैसा बचाउँदै र ऋणपान गरेर छोराको आँखाको उपचार गर्दै आएको भए पनि एक पटक डा.सन्दुक रुइतलाई भेटेर छोराको आँखा देखाउने धोको रहेको उनले बताएका छन् ।

विश्वकर्माले आफ्नो छोराको आँखा जन्मैदेखि नदेखिने र पोखरा, बिराटनगर, लाहान, काठमाण्डौ लगायतका नाम चलेका आँखा अस्पतालहरुमा उपचारकालागि लगेको थिए । चौदण्डीगढी नगरपालिकामा भएको बृहत् आँखा शिविरमा पनि उपचार गराउन लगेको तर आफ्नो पहुँच नपुग्दा उपचार हुन नसकेको बताएका थिए ।

विश्वकर्माले काठमाण्डौको तिलगंगा आँखा अस्पतालमा ४ पटक लिएर गएको र त्यहाँका प्रमुख डा. सन्दुक रुइतलाई भेट्न पटक पटक प्रयास गरेको भए पनि अस्पतालका कर्मचारीहरुले डा. साहेब हुनुहुन्न भनेर भेट गर्न नदिएको गुनासो सहितको समाचार नेपाल समाचार पत्रको अनलाईन पोर्टल न्युज अफ नेपाल र नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो ।

डा. रुइतको सचिवालयबाट फोन सम्पर्कपछि विश्वकर्मासँग उदयपुरका सम्वाददाताले विश्वकर्मासँग सम्पर्क गर्दा उनले अहिले आफू मजदुरीको काममा व्यस्त भएकोले केही दिनपछि छोरालाई उपचार गराउन तिलगंगा लैजाने र डा. रुइतसँग भेटेर छोराको आँखाको उपचारका बारेमा सल्लाह गर्ने र उयचार सम्भव छ छैन सबै एकिन गर्ने बताए ।

डा. रुइतको सचिवालयका आचार्यले आँखाको समस्या भएका बालकलाई तिलगंगा आँखा अस्पतालमा पठाउन र बालकको आँखाको अवस्था हेरेर उपचारकालागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।