काठमाडौँ ।
इजरायलले शनिबार इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार इजरायली सैन्य कारबाहीसँग सम्बन्धित दुई स्रोत र एक क्षेत्रीय स्रोतले आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह तथा इस्लामिक रिभोलुसनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर मारिएको दाबी गरेका छन्। रिपोर्टअनुसार, “इजरायलको सैन्य कारबाहीसँग सम्बन्धित दुई स्रोत र एक क्षेत्रीय स्रोतले भनेका छन्– इजरायली आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर मारिएका छन्।
” यद्यपि, यसबारे इरानी सरकारी पक्षबाट औपचारिक पुष्टि भइसकेको छैन। यसअघि इरानी समाचार एजेन्सीले दक्षिणी इरानस्थित एक विद्यालयमा मिसाइल प्रहार हुँदा ४० जना विद्यार्थीको मृत्यु भएको र ४५ जना घाइते भएको जनाएको थियो। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ। इजरायलले अमेरिकासँगको सहकार्यमा तेहरानसहित इरानका कम्तीमा १० सहरमा हवाई आक्रमण गरेको जनाइएको छ।
आक्रमणपछि अमेरिकी राष्ट्रपति Donald Trump ले भिडियो सन्देश जारी गर्दै इरानविरुद्धको कारबाही अमेरिकी नागरिकको सुरक्षाका लागि भएको बताएका छन्। उनले इरानको आक्रामक गतिविधिलाई नियन्त्रण गर्न आवश्यक कदम चालिएको दाबी गरेका छन्। जवाफमा इरानले इजरायलतर्फ झन्डै ४०० वटा मिसाइल प्रहार गरेको दाबी गरिएको छ।
साथै कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई समेत निसाना बनाइएको इरानी पक्षको दाबी छ। इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि आक्रमण गरेको उल्लेख गरिएको छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। मध्यपूर्वमा यस घटनापछि तनाव चुलिएको छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहेका छन् भने थप सैन्य प्रत्याक्रमणको जोखिम बढेको आकलन गरिएको छ।











प्रतिक्रिया