म्याग्दीमा देखिए रोचक चुनावी दृश्यः भजन कीर्तनदेखि उम्मेदवारलाई नगद उपहार

658
Shares

म्याग्दी।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन अब केवल छ दिन मात्र बाँकी छ । राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचन आयोगले दिएको चुनाव प्रचार प्रसारको समय पनि सकिदै छ । तर जतिजति निर्वाचनको मिति नजिकिदैमा म्याग्दीमा भने रमाइला रमाइला चुनावी परिदृश्यहरु देखिन थालेका छन् ।

म्याग्दीमा देखिएका चुनावी गतिविधिहरूले स्थानीय जनतालाई मात्र होइन, राजनीतिक विश्लेषकहरूलाई समेत चकित पारेका छन् । सामान्यतया चुनावमा उम्मेदवारले मतदातालाई प्रभावित गर्न पैसा खर्च गर्ने, प्रलोभन देखाउने भन्ने आरोप लाग्ने गर्छ । तर यसपटक भने उल्टो दृश्य देखिएको छ—मतदाताले नै उम्मेदवारलाई आर्थिक सहयोग जुटाइदिएका छन् ।

सबैभन्दा अनौठो दृश्य अन्तरिक सरकारको शिक्षा मन्त्रीबाट राजिनामा दिएर चुनाव लढ्न म्याग्दी आएका स्वतन्त्र उम्मेदवार महावीर पुनको चुनाव प्रचार अभियानमा देखिएको छ । स्वतन्त्र उम्मेदवार पुनले चुनाव प्रचारका लागि गाउँगाउँ डुल्दा मतदाताबाट नै चुनाव खर्च भनेर आर्थिक सहयोग पाएका छन् ।

पुनले भने “जनताले फूलमाला र अबिर लगाइदिँदै स्वच्छिक रुपमा हातैमा पैसा राखिदिन्छन्,मैले त मतदातालाई पैसा दिए भोट पाइन्छ भन्ने सुनेको थिएँ तर यहाँ त उल्टो भएको छ । मतदाताले मलाई नै पैसा दिएका छन् ।” उम्मेदवार पुनले हालसम्म मतदाताबाट मात्र १५ लाखभन्दा बढी सहयोग प्राप्त भएको बताए ।

यसमा विदेशबाट शुभेच्छुकहरूले बैंक वा क्यूआर मार्फत पठाएको रकम संलग्न छैन । “विदेशबाट कोकोले कति पठाएका छन् हेर्न भ्याएको छैन” पुनले भने।

त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, एमालेका हरिकृष्ण श्रेष्ठ, कम्युनिष्ट पार्टीका अर्जुन थापा, माओवादीका क्षेत्रबहादुर घिमिरेलाई पनि स्थानीय तथा विदेशस्थित नेपालीहरूले खाना, यातायात र प्रचार खर्चका लागि क्यूआर मार्फ सहयोग गरेका छन् ।

भजनकीर्तन,सम्मान र संयुक्त चुनावी सभा

गत बुधबार जिल्लाको मंगला गाउँपालिका–३ बरंजामा चुनाव प्रचारका लागि पुगेका नेकपा एमालेका उम्मेदवारलाई स्थानीयले भजन–कीर्तनमार्फत स्वागत गरे । धार्मिक–सांस्कृतिक शैलीमा गरिएको स्वागतले प्रचारलाई उत्सवमय बनाएको नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बताए । त्यसैगरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापा सहितको टोलीलाई स्थानीयले सम्मान गरेका थिए ।

तत्कालीन नेकपा माओवादीका प्रदेश सांसद विनोद केसीले अघिल्ला प्रतिवद्धता पूरा गरेको भन्दै जनताले खुलेर प्रशंसा गरे । यसले जनताले प्रतिवद्धता पूरा गर्ने नेताप्रति देखाएको विश्वासलाई झल्काएको बुद्धिजीवि चन्द्रबहादुर घिमिरेले बताए । उत्तरी म्याग्दीको एक क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादीले संयुक्त सभा आयोजना गरे । एमालेका हरिकृष्ण श्रेष्ठ र माओवादीका क्षेत्रबहादुर घिमिरे एउटै मञ्चमा बसेर जनतालाई सम्बोधन गरे । यसबाट प्रतिस्पर्धी दलबीचको सहकार्यले जनतालाई नयाँ राजनीतिक संस्कृतिको अनुभव प्राप्त भएको अन्नपूर्ण १ का मतदाता कविर शेरपुंजाले बताए ।

यस पटक म्याग्दीमा गज्जबको राजनीतिक परिदृश्यहरु देखिएका राजनीतिक विश्लेषक केदार पौडेलले बताए । उनले भने “म्याग्दीमा देखिएको यो अभ्यास लोकतान्त्रिक संस्कृतिको सकारात्मक रूप हो । जनताले उम्मेदवारलाई आर्थिक सहयोग गर्नु भनेको उनीहरूको प्रतिवद्धता र विश्वासको प्रत्यक्ष अभिव्यक्ति हो । यसले नेताहरुले पैसाले मत किन्छन् र जनता पैसामा विक्छन् भन्ने भाष्यलाई चुनौती समेत दिएको छ ।”

उनका अनुसार म्याग्दीमा यसपालिको चुनाव प्रचारले नयाँ राजनीतिक संस्कृतिको संकेत दिएको छ । निकै शालिन तरिकाले कसैलाई घोचपेच नगरी गरिएको यसपटकको चुनाव प्रचारले चुनाव केवल प्रतिस्पर्धा मात्र होइन, जनताको सक्रिय सहभागिता र विश्वासको उत्सव पनि हो भन्ने कुरा बुझाउन खोजेको छ ।