धर्मान्तरण : अधिकार कि व्यापार ?

564
Shares

यसुको नाममा ‘हटिजा’ भनी कोरोना महामारीका बखत पायल्स निको पार्दै र कोरोना रोकथाम गर्दै गरेका एक पास्टर जुलाई २०२८ मा एक वर्षका लागि जेल परेका थिए । नेपालको संविधान २०७२ को धारा २६ ले हरेक नेपालीलाई धार्मिक स्वतन्त्रताको हक प्रदान गरेको छ । तर पनि धारा २६ को उपधारा ३ मा धर्म परिवर्तनलाई निषेध गरिएको छ । नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई मानवअधिकारको विश्वव्यापी घोषणाका रुपमा व्याख्या गरेको छ ।

आफ्नो धर्मलाई बढाइचढाइ गरेर अरूले मानिरहेको धर्मको नकारात्मक पक्षलाई मात्र उजागर गर्दै अरूलाई आफूले मान्ने आस्था मान्न लगाउने कार्यलाई धर्मान्तरण भनिन्छ । विश्व इतिहासमा धर्मान्तरण इसापूर्व दोस्रो शताब्दीबाट शुरु भएको मानिन्छ । नेपालमा भने यसको लहर वि.सं. १६८० देखि शुरु भएको मानिन्छ । नेपालमा यसले विकराल रूप २०७२ को भूकम्पपछि लिएको थियो ।

विश्व इतिहासको कालखण्ड पल्टाएर हेर्दा धर्मान्तरणको सबैभन्दा पुरानो दस्तावेजीकृत घटनामध्येको एक मौर्य साम्राज्यमा भेटिन्छ । तत्कालीन मौर्य साम्राज्यका सम्राट अशोकले कलिङ्ग युद्धपछि रणभूमिमा भएको ठूलो दुःख देखेर अहिंसा र शान्तिका लागि बौद्ध धर्म अपनाए । आफ्नो शिलालेखमार्फत नैतिकता र अहिंसाको सन्देश फैलाएका उनले श्रीलङ्का तथा अन्य एसियाली क्षेत्रहरूमा धर्मदूत पठाएका थिए ।

त्यस्तै इसाई धर्मको विस्तार मुख्यरूपमा प्रचारक यात्रामार्फत भएको थियो । यसको शुरुवात रोमन साम्राज्यबाट भएको अभिलेखहरू पाइन्छन् । यसको विस्तारमा प्रेरित पावलको विशेष भूमिका रहेको पाइन्छ । उनी शुरुमा इसाई धर्मका विरोधी भए तापनि पछि यही धर्मको प्रचारमा लागेका थिए । उनी एसिया, ग्रीस र रोमका विभिन्न शहरमा यात्रा गरी यसुको बारेमा सुनाई मानिसहरूलाई इसाई धर्म स्वीकार गर्न प्रेरित गर्थे ।

यता इस्लाम धर्मचाहिँ सातौँ शताब्दीपछि उमय्यद खलिफतको समयमा व्यापार, विद्वान् र शासकहरूको माध्यमबाट फैलिएको थियो । मध्यकाल र प्रारम्भिक आधुनिक युगमा संगठित धर्मप्रचारको वृद्धि भएको थियो । यसै समयमा जेसुइट समाजका सदस्य फ्रान्सिस जेभियरले भारत र जापानमा धर्म प्रचार गरेको ऐतिहासिक प्रमाणहरू पनि भेटिन्छन् ।

नेपाल पनि धर्मान्तरणको समस्याबाट अछुतो छैन । नेपालमा मल्ल राजाहरूको पालामा क्यापुचिन पादरीहरूले राजाको अनुमति लिएर विधिवत् रूपमा धर्मप्रचार शुरु गरेका थिए । एकीकरणपश्चात् प्रचारकहरूलाई बन्देज गरिए तापनि २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि पुनः उनीहरूले धर्मप्रचार गरे । यो धर्मप्रचारमा मुख्यतः इसाई धर्मावलम्बीहरू सक्रिय रहेका छन् ।

हाल धर्मान्तरणको निम्ति नेपालमा बर्सेनि दक्षिण कोरिया, अमेरिकालगायतका देशहरूबाट धर्मप्रचारकहरू आएर अर्बौं रुपियाँ खर्च गरी नेपालीहरूलाई गैरकानुनीरूपमा धर्म परिवर्तन गराइरहेका छन् । मानिसको भलो हुने भनेर प्रचार गरिए तापनि यो एउटा व्यापारको रूपमा सञ्चालन गरिएको जालो हो ।

संविधान २०४७ ले नेपाललाई एक हिन्दू राष्ट्रको रूपमा घोषणा गरेको थियो । वि.सं. २०६३ को अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको रूपमा परिचित गरायो । हिन्दू धर्म मान्ने मानिसहरूको बाहुल्यता रहेको नेपालमा विभिन्न भेदभाव र कुप्रथाहरू मौलिक रूपमा चलनमा थिए । साक्षरताको दर कम भएका र अशिक्षित गाउँलेहरूमा धर्मप्रचारकहरूको प्रभाव बढी परेको थियो । गाउँमा भेदभावको चलन पनि थियो ।

न्याय र समानताका लागि धर्मान्तरण गर्नुपर्ने पाठ पढाइयो । यस्ता धर्मप्रचारक समूहहरूले नेपालका यस्तै मानसिकता भएका मानिसलाई आफ्नो धर्म मान्न प्रभावित गराए । यसुको शिक्षा भन्दै उनीहरूको मौलिक धर्मका त्रुटिमात्र देखाइए ।

इज्जत, पैसाका साथै रोग निको पार्ने नाममा इसाई धर्मतर्फ गैरकानुनीरूपमा आकर्षित गराउने काम भइरहेको छ । धार्मिक स्वतन्त्रताको हकको नाममा यसरी धर्मान्तरण गर्नु अधिकार हो कि व्यापार ? सम्बन्धित निकायले मनन गर्नुपर्ने देखिन्छ ।