काठमाडौँ।
धादिङमा भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २५ जना घाइते भएका छन्। दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहमन्त्रालयमा आकस्मिक उच्चस्तरीय बैठक बसेर जाँचबुझ समिति गठन गर्ने निर्णय गरिएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस राति १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भंसेगौडा नजिक त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो। घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। २५ जना घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनापछि बसेको बैठकमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले घाइतेहरूको उपचारलाई पहिलो प्राथमिकतामा राखेर प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय दुर्घटना जाँचबुझ समिति गठन गरी छिटो प्रतिवेदन पेश गर्न र दोषीमाथि कानुनी कारबाही अघि बढाउने निर्णय गरिएको छ। यातायात क्षेत्रको नियमन प्रभावकारी बनाउन, बस व्यवसायी र चालक–सहचालकलाई जिम्मेवार बनाउन तथा सडक सुरक्षासम्बन्धी कानुन कडाइका साथ कार्यान्वयन गर्ने विषयमा पनि बैठकले जोड दिएको छ।
मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री अर्यालले उद्धार तथा उपचार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। “सडक र नागरिक सुरक्षामा कुनै हेलचेक्र्याइँ सह्य हुँदैन। दण्डहीनता कसैलाई पनि क्षम्य हुने छैन,” उनले स्पष्ट पारे।
निर्वाचनको संवेदनशील समय नजिकिँदै गर्दा यस्ता ठूला दुर्घटनाले सुरक्षामा चुनौती थपिन सक्ने उल्लेख गर्दै सम्बन्धित सबै निकायलाई चनाखो र जिम्मेवार भएर काम गर्न आग्रह गरिएको छ। सरकारले सडक सुरक्षा सुधारका लागि विगतका अध्ययन प्रतिवेदन र सुझावहरू कार्यान्वयनमा ल्याउने जनाएको छ।











प्रतिक्रिया