काठमाडौं।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताबीच बढ्दै गएको आक्रोशले निर्वाचन सुरक्षामा चुनौती थपेकोे छ । ‘नयाँ’ र ‘पुराना’ शक्तिको भाष्य निर्माण गर्दै आम मतदातालाई आफ्नो पक्षमा पार्ने होडबाजी चर्किंदै जाँदा विभिन्न स्थानहरूमा झडपको घटना हुनुले सुरक्षा चुनौती बढ्दै गएको छ । यसले निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण हुनेमा प्रश्न उठाएको छ ।
पछिल्लो समय मधेस प्रदेशका केही जिल्लामा चुनावी प्रचारका क्रममा दलका कार्यकर्ताबीच विवाद बढेको छ ।
रौतहटमा गत शुक्रवार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच पोस्टर टाँस्ने विषयलाई लिएर झडप हुँदा केही कार्यकर्ता घाइते भएका थिए । त्यसको एक दिनअघि बिहीबार दाङमा एमालेको झण्डा जलाएपछि एमालेका आक्रोशित कार्यकर्ताले रास्वपाको निर्वाचन सम्पर्क कार्यालयमा ढुंगामुढा गरेका थिए ।
यस्तै, अघिल्लो साता बारा र सर्लाहीमा नेपाली कांग्रेस र रास्वपामा प्रचार जुलुसको मार्ग र कार्यक्रम समयलाई लिएर तनाब उत्पन्न भएको थियो ।
काठमाडौं उपत्यकामा समेत सामाजिक सञ्जालमा गरिएको आपत्तिजनक टिप्पणीलाई लिएर युवा कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । यद्यपि, प्रहरीले तत्काल हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएका कारण घटना चर्किन पाएन ।
सरकारले निर्वाचन शान्तिपूर्ण बनाउने दाबी दोहो¥याइरहे पनि सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिका कारण चुनावी वातावरण थप संवेदनशील बन्दै गएको छ ।
यसैबीच सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले निर्वाचनमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन जिल्ला सुरक्षा समितिमार्फत मुलुकका विभिन्न क्षेत्रमा सुरक्षा फौज परिचालित भएको जानकारी दिनुभयो । संयुक्त सुरक्षा फौज निर्वाचन परिचालन कार्यविधिअनुसार अघि बढिरहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘कुनै घटना हुने संकेत पाए तत्कालै फौज परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’
भट्टका अनुसार सामाजिक सञ्जालबाट हुने ‘मिथ्या सूचना’ र ‘भ्रामक सूचना’प्रति संगठन सचेत छ । यस्तो खालको गतिविधि भेटिएमा नेपाल प्रहरीको साइबर डेस्कलाई समन्वयका लागि जानकारी गराउने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘सूचना संयन्त्रलाई बलियो बनाइएको छ । वरिष्ठ अधिकृतहरू प्रदेश–प्रदेशमा खटाइएका छन् ।’
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले पनि निर्वाचनलाई लक्षित गरी ७७ वटै जिल्लामा साइबर प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
‘निर्वाचन प्रभावित पार्ने आशयका सामग्री सामाजिक सञ्जालमा हालिएको पाइएमा तत्काल हटाउने, संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउने प्रक्रिया तीव्र बनाइएको छ,’उहाँले भन्नुभयो । काफ्लेका अनुसार जिल्ला–जिल्लामा सम्भावित घटना रोक्न संयन्त्र तयार अवस्थामा छ र कुनै घटना सिर्जना हुने अवस्था देखिए तत्काल नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।
हाल सामाजिक सञ्जालमा पोस्ट गरिएका उत्तेजक सामग्रीले समाजमा आक्रोश फैलाउने प्रवृत्ति देखिएकाले नेपाल प्रहरी साइबर ब्युरोलाई विशेष जिम्मेवारी दिइएको छ । साथै निर्वाचन आयोगमा रहेको प्रहरीको साइबर टोली पनि सक्रिय रहेको जनाइएको छ ।
सुरक्षा विज्ञ तथा पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले निर्वाचनको संवेदनशीलतालाई बुझेर सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिनुभयो । चुनावलाई युद्ध होइन, लोकतन्त्रको पर्वको रूपमा बुझ्न आग्रह गर्दै उहाँले भन्नुभयो– ‘सामाजिक सञ्जालमा उत्तेजक भाषा प्रयोग गरेर समाजलाई विभाजित गर्ने प्रवृत्ति खतरनाक हुन्छ ।’
अहिलेको सबैभन्दा ठूलो चुनौती ‘सूचना युद्ध’ भएको टिप्पणी गर्दै सिलवालले भन्नुभयो– ‘झुठा समाचार र अफवाह नियन्त्रण गर्न नसकिए भौतिक झडपभन्दा ठूलो असर पर्न सक्छ । सुरक्षा निकायले निगरानी बढाएको राम्रो हो, तर राजनीतिक दल स्वयंले पनि आचारसंहिताको पालना गर्नुपर्छ ।’
निर्वाचन आयोगले पनि आचारसंहिता उल्लंघनका उजुरीमाथि छानबिन तीव्र बनाएको जनाएको छ । सुरक्षा निकायसँगको समन्वयमा संवेदनशील क्षेत्र पहिचान गरी विशेष निगरानी बढाइएको छ ।
सुरक्षा अधिकारीहरूका अनुसार मतदान केन्द्र, मतगणना स्थल तथा उम्मेदवारको आवतजावत हुने क्षेत्रमा बहुस्तरीय सुरक्षा घेरा तयार पारिएको छ । आवश्यक परे हवाई निगरानी र द्रुत प्रतिक्रिया टोली परिचालन गरिने तयारी छ ।
छिटपुट घटनाले चुनावी वातावरण तनावपूर्ण देखिए पनि सुरक्षा निकायले समग्र अवस्था नियन्त्रणमा रहेको दाबी गरेका छन् । संयुक्त सुरक्षा संयन्त्र, साइबर निगरानी र द्रुत प्रतिक्रिया प्रणालीका कारण ठूलो अवाञ्छित घटना हुन नदिने उनीहरूको दावी छ ।
तर, राजनीतिक दलका नेता तथा कार्यकर्ताले उत्तेजक अभिव्यक्ति र आक्रामक प्रचारशैलीलाई निरन्तरता दिए शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न थप चुनौती थपिने विश्लेषकहरूको भनाइ छ ।
निर्वाचन लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण चरण भएकाले सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ । सुरक्षा निकायले उच्च सतर्कता अपनाएको अवस्थामा अब दलहरूको व्यवहार र मतदाताको सचेतनाले नै निर्वाचन कति शान्तिपूर्ण हुन्छ भन्ने निर्धारण गर्ने देखिएको छ ।











प्रतिक्रिया