निर्वाचन र चाडपर्वको जुधाइ- आउँदो हप्ता लगातार ७ दिन सार्वजनिक बिदा पर्ने सम्भावना


काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेसँगै आउँदो हप्ता लगातार सात दिन सार्वजनिक बिदा पर्ने सम्भावना देखिएको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते हुँदैछ। सो निर्वाचनलाई मध्यनजर गर्दै आयोगले फागुन २० गते बुधबारदेखि २२ गते शुक्रबारसम्म तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको हो। आयोगको उक्त सिफारिस मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेमा ती तीन दिन औपचारिक रूपमा सार्वजनिक बिदा हुनेछ।

यस वर्षको होली/फागु पूर्णिमा पनि सोही हप्तामा परेको छ। सरकारले होलीको अवसरमा पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराई क्षेत्रमा फागुन १९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। त्यसको भोलिपल्ट अर्थात् फागुन २० गतेदेखि निर्वाचन प्रयोजनका लागि तीन दिन बिदाको सिफारिस गरिएको हो।

फागुन २३ गते शनिबार नियमित सार्वजनिक बिदा नै पर्छ भने फागुन २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिइनेछ।

यसरी हेर्दा आयोगको सिफारिसअनुसार सरकारले निर्णय गरेमा फागुन १८ गते सोमबारदेखि फागुन २४ गते आइतबारसम्म लगातार सात दिन सार्वजनिक बिदा पर्नेछ। लगातार लामो बिदाले सरकारी सेवा, बैंकिङ क्षेत्र, शैक्षिक संस्था र निजी क्षेत्रका गतिविधिमा प्रभाव पार्ने सम्भावना रहेको छ भने आन्तरिक पर्यटन र आवतजावतमा चहलपहल बढ्ने अनुमान गरिएको छ।