
साहित्यिक जमघटहरू प्रायः बौद्धिक बहस र समीक्षामा मात्र सीमित हुने गर्छन् तर लेखिका रजनी श्रेष्ठको नयाँ कथासङ्ग्रह ‘विस्मृति’को लोकार्पण भने अलि भिन्न र अर्थपूर्ण परिवेशमा सम्पन्न भएको छ । अनन्तधाराधाम सत्सङ्गभवनको शान्त र आध्यात्मिक वातावरणमा आयोजित उक्त समारोहमा पुस्तकलाई कुनै तामझामका बीच नभई साधुभावका साथ सार्वजनिक गरियो । संस्कृतका अभियन्ता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिनाको प्रमुख आतिथ्य तथा अनन्तधाराधामका अध्यक्ष पण्डित मधुसूदन सुवेदीको विशिष्ट आतिथ्यमा यो कृति पाठकमाझ सुम्पिएको हो ।
यस कार्यक्रमको एक अलग विशेषता थियो । यहाँ परम्परागत साहित्यिक मञ्चमा जस्तो पाठक र साहित्यिक व्यक्तित्वहरूको मात्र उपस्थिति थिएन, बरु साधक भक्तहरूको आत्मिक भावको पनि उत्तिकै सहभागिता थियो । प्रमुख अतिथि आचार्य रोहिणीराज तिमिल्सिना, विशिष्ट अतिथि पण्डित मधुसूदन सुवेदी र अतिथि सफला श्रेष्ठका हातबाट कृतिको लोकार्पण हुँदा कार्यक्रम(स्थल कुनै अध्यात्मको उत्सवभन्दा कम लाग्दैनथ्यो । तडक(भडकभन्दा टाढा रहेर अत्यन्तै शालीन रूपमा सम्पन्न भएको यस समारोहको सञ्चालन अनन्तधारा(धामका उपाध्यक्ष मुरारि सुवेदीले गर्नुभएको थियो । यसरी अध्यात्म र साहित्यको सुन्दर सङ्गमका बीच ‘विस्मृति’ले आफ्नो यात्रा आरम्भ गरेको छ ।
नेपाल राष्ट्र बैंकको प्रतिष्ठित व्यावसायिक यात्राबाट अमेरिकाको भर्जिनियास्थित आर्लिंग्टन लाइब्रेरीको बौद्धिक संसारसम्म फैलिएको व्यक्तित्व हो- रजनी श्रेष्ठ । रजनी श्रेष्ठद्वारा रचित एवं रवीन्द्र भक्त श्रेष्ठद्वारा प्रकाशित जम्मा पृष्ठ २०८ भएको अनि नेरू ३५० मूल्य निर्धारण गरिएको कथासङ्ग्रह ‘विस्मृति’मा ४० वटा कथाहरू सङ्गृहीत छन् । कृतिको भूमिका-खण्डमा सहप्राध्यापक हरि घिमिरे, यसै कृतिका सम्पादक उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिना र अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीजस्ता विद्वान्हरूको समीक्षात्मक दृष्टि पर्नुले पनि यसको गरिमालाई थप उचाइ प्रदान गरेको छ ।
विषयवस्तु र सामाजिक यथार्थको सङ्गम विस्मृति केवल कथाको सँगालोमात्र होइन, यो आधुनिकताको अन्धवेगमा हराउँदै गएका मानवीय संवेदनाहरूको दर्पण पनि हो । लेखिकाले नेपालका दुर्गम गाउँदेखि अमेरिकाका व्यस्त सहरहरूसम्मको परिवेशलाई आफ्नो कथाको क्यानभास बनाएकी छन् । विशेषगरी डायस्पोरा (प्रवास) मा बस्ने नेपालीहरूको आन्तरिक सङ्घर्ष, सांस्कृतिक द्वन्द्व र पुस्तान्तरणको खाडललाई उनले निर्मम तर संवेदनशील ढङ्गले केलाएकी छन् । परिस्थिति, वृद्धाश्रमु र अल्झिएको जीवन जस्ता कथाहरूले आधुनिक समाजमा छोराछोरीले आफ्ना वृद्ध आमा(बाबुप्रति देखाउने उपेक्षाभाव र त्यसबाट उत्पन्न एक्लोपनाको कारुणिक चित्र उतारेका छन् ।
शीर्षकको बहुआयामिक अर्थ सङ्ग्रहको शीर्षकथा विस्मृतिुमा अल्जाइमर रोगका कारण आफ्नै पतिलाई चिन्न नसक्ने पात्र ठूलीको कथाले बताएझैँ लाग्छ तर यो विस्मृति केवल एउटा रोगमा मात्र सीमित छैन । लेखिकाले यो विस्मृतिलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै समाजले बिर्सँदै गएको नैतिकता, सन्तानले बिर्सँदै गएको कर्तव्य र प्रेमीले बिर्सँदै गएको निष्ठामाथि कडा प्रहार गरेकी छन् ।
विश्वास किन यस्तो हुन्छ ? जस्ता कथाहरूमा आर्थिक प्रलोभनमा परेर वैवाहिक पवित्रता र प्रेमलाई भुल्ने प्रवृत्तिलाई देखाइएको छ, जुन आजको भौतिकवादी समाजको एउटा तितो यथार्थ हो । रजनी श्रेष्ठका कथाहरूमा नारी पात्रहरू केवल पीडितका रूपमा मात्र छैनन्, उनीहरू विद्रोही र निर्माताका रूपमा पनि उभिएका छन् । नारीभावनाकी उषाले पतिबाट धोका पाएपछि आँसु झारेर बस्नुको सट्टा थुक्क थुकेर घर छोड्नु र एक्लै सङ्घर्ष गरेर छोरीलाई हुर्काउनु नारी स्वाभिमानको उत्कृष्ट नमुना हो । त्यस्तै ७० वर्षअघिको समाजको चित्रण गर्ने भगवती देवीदेखि आधुनिक बेबी सावरसम्म आइपुग्दा नारीहरूको बदलिँदो चेतना र निर्णयात्मक क्षमतालाई लेखिकाले कुशलतापूर्वक प्रस्तुत गरेकी छन् ।
चरित्रचित्रणमा यस कृतिको एउटा विशिष्ट पक्ष भनेको पीडित पुरुषपात्रको प्रस्तुति हो । नेपाली साहित्यमा प्रायः नारीलाई मात्र पीडित देखाइने परम्पराको विपरीत श्रेष्ठले पसिनाको मूल्यका रामचन्द्र र विस्मृतिका सुरेशजस्ता पात्रहरूमार्फत पुरुषको त्याग, निष्ठा र उनीहरूले भोग्नुपर्ने भावनात्मक चोटलाई पनि न्याय दिएकी छन् ।
सरल, प्रवाहमय र बिम्बात्मक प्रस्तुतिले भरिएको भाषाशैली यस कृतिको प्राण हो । ४० वटा कथाहरूको यो मालाले पाठकलाई कहिले नेपालको मौलिक सामाजिक संरचनामा पुर्याउँछ त कहिले डायस्पोराको जटिल भूगोलमा । विस्मृतिले हामीलाई प्रश्न गर्छ के हामीले भौतिक प्रगतिको दौडमा आफ्नो आत्मा र सम्बन्धहरूलाई विस्मृतिको गर्तमा त धकेलिरहेका छैनौँ ? समसामयिक समाजबोध र मानवीय मनोविज्ञान बुझ्न चाहने जोकोहीका लागि पनि यो कृति एक पठनीय र सङ्ग्रहणीय उपहार बनेर प्रस्तुत भएको छ ।











प्रतिक्रिया