हलेसीमा दर्शनार्थी बढ्दा पार्किङको समस्या

564
Shares

खोटाङ । प्रसिद्ध त्रिधार्मिक स्थल खोटाङको हलेसीमा दर्शनार्थी भक्तजनहरुको संख्या बढ्दो रहेको छ । यातायातको सुविधासँगै दर्शनार्थी भक्तजनको संख्या बढिरहेको हो । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा स्वदेश तथा भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन लिएर आउने गरेकाले पार्किङ व्यवस्थापनमा समस्या देखिएको छ ।

यही शिवरात्रिमा मात्र करिब तीन हजारको हाराहारीमा भक्तजन तथा दर्शनार्थीहरु हलेसी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।हलेसीमा लागेको महाशिवरात्रि मेला भर्न आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्ंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको थियो । राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्रे गरिएका कारण पनि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैँले सवारीसाधन लिएर हलेसी आउने गरेका छन् ।

धार्मिक रुपमा मात्र नभई प्राकृतिक रुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिक स्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टान नै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू अवस्थित छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमुना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ । जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य मनमोहक रहेको छ ।

हलेसीमा शिवरात्रि, रामनवमी, बालाचर्तर्दशी, हरितालिका तीज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ । पछिल्लो समय दर्शनार्थी तथा भक्तजनको बाक्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहने गरी हलेसी बजारआसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो ।

दैनिक सयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने हलेसी मन्दिर परिसरमा पर्यटक गणकयन्त्र र सौर्यबत्तीसमेत जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत तत्कालीन १ नम्बर प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको १० लाख रुपियाँ लागतमा हलेसी मन्दिर परिसरका विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हो । अब दिगोरुपमा पार्किङ व्यवस्थापनका लागि समयमै सोच्नुपर्ने भएको छ ।