गौरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

1.03k
Shares

रौतहट ।

रौतहटको सदरमुकाम गौरमा शनिवार कफ्र्यु जारी भएको छ । गौर नगरपालिका–६, सवगढामा शनिवार दुई पक्षबीच भएको झडपले उग्र रूप लिँदै स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी कफ्र्यु आदेशअनुसार शनिवार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तर बम नहर, दक्षिण गौर भन्सार कार्यालयभित्र कफ्र्यु जारी भएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालयको रोहवरमा शुक्रवार साँझ भएको ६ बुँदे सहमति उल्लंघन गर्दै रौतहटको सदरमुकाम गौर नगरपालिका–६, सवगढामा शनिवार बिहान पुनः दुई पक्षबीच झडप भएको छ ।

स्थिति नियन्त्रण लिन सुरक्षाकर्मीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका छन् । झडपकै क्रममा एउटा स्कारपियो र तीनवटा मोटरसाइकलमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दर्जनौं राउन्ड हवाई फायर र राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

तीन दिनअघि विवाहको जन्ती जाने क्रममा दुई समुदायबीच सुरु भएको सामान्य विवादले उग्र रूप लिएको थियो । सोही विषयलाई लिएर शुक्रवार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको उपस्थितिमा भएको वार्तामा सामाजिक सद्भाव कायम गर्ने र आगामी २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नेलगायतका ६ बुँदे प्रतिबद्धता जनाइएको थियो ।

तर, सहमति भएको भोलिपल्टै पुनः झडप भएपछि प्रशासनलाई चुनौती थपिएको छ । झडपमा घाइते भएकाहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
हाल घटनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र स्थानीय प्रशासनले सर्वसाधारणलाई कुनै पनि उत्तेजनामा नआउन र सामाजिक सदभाव कायम राख्न अपिल गरेको छ ।

सरकारद्वारा संयमता अपनाउन आग्रह

रौतहटमा दुई समुदायबीचको विवादले उत्पन्न तनावका बीच सरकारले उच्च संयमता अपनाउन सबैलाई आग्रह गरेको छ । घटनापछि गृह मन्त्रालयमा मुलुकको समसामयिक अवस्था, समग्र शान्ति–सुरक्षा र आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीसम्बन्धी विषयमा केन्द्रित रही केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

बैठक ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको हो र चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ । बैठकमा मधेस–तराई क्षेत्रका पछिल्ला दिनमा देखिएका जातीय तथा धार्मिक संवेदनशीलता, सामाजिक सद्भावमा पर्न सक्ने प्रभाव र निर्वाचनसँग सम्बन्धित सम्भावित सुरक्षा चुनौतीका विषयमा गहन छलफल भएको छ ।

सुरक्षा निकायहरूले संवेदनशील जिल्लामा अतिरिक्त सुरक्षा व्यवस्था, निगरानी संयन्त्र सुदृढीकरण र आकस्मिक परिस्थिति व्यवस्थापनका लागि तयारी अवस्थाबारे जानकारी दिएका छन् । मन्त्रालयका अनुसार, बैठकमा उठेका विषयहरूमा आवश्यक निर्णय र रणनीतिक निर्देशन जारी गरिनेछ ।