११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भमार्फत निकास
काठमाडौं ।
यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन देश बनाउने र देश जलाउनेबीचको प्रतिस्पर्धा रहेको उद्घोष गर्दै नेकपा (एमाले) ले बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राख्दै सो घोषणा पत्र सार्वजनिक गरेको हो ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई हेर्ने आफ्नो राजनीतिक दृष्टिकोण, लोकतन्त्र, कानुनी शासनप्रतिको प्रतिबद्धता व्यक्त गर्दै एमालेले घोषणापत्रमा निर्वाचनपछि सरकार गठन गर्ने अवसर पाएमा ११ वटा कामहरू तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको घोषणापत्रमा जेन–जी उमेर समूहका युवालाई निःशुल्क इन्टरनेट डाटादेखि सुरक्षाकर्मीको सम्मानसम्मका ११ वटा कामहरू मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर कार्यान्वयन गरिने उल्लेख छ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि आलोचित हुँदै आएको एमालेले जेन–जी युवालाई लक्षित गर्दै घोषणापत्रमा भनेको छ– ‘१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छौं ।’ एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भए मन्त्रिपरिषद् बैठकबाट युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने पनि घोषणापत्रमा उल्लेख गर्दै भनेको छ– ‘सूचना प्रविधि क्षेत्रमा आईटी÷टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवद्र्धन गर्न र स्टार्टअप व्यवसायमार्फत् अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने छौं ।’
सो सुविधाबाट स्टार्टअप उद्यममा जोडिन चाहने युवालाई एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाएर १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने एमालेको लक्ष्य छ ।
विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्नसक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता पनि एमालले गरेको छ । एमालेले तेस्रो काममा वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा वार्षिक ५ हजार रुपियाँ थप गर्र्नेे र सामाजिक सुरक्षामा निरन्तरता दिने विषय समेटेको छ । वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपियाँसम्म निब्र्याजी ऋण र सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिक सहितको इन्टर्नसिपको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा शीर्षक राखेर घोषणा पत्रमा पाँच वटा काम गर्ने भनेको छ ।
घोषणापत्रमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार रुपियाँ पु¥याउने, शिक्षकको मर्यादा र सामाजिक सुरक्षालाई प्राथमिकता दिएर काम गर्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा प्रदान गर्ने र महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत् २० लाखसम्म उद्यमी महिला निव्र्याजी ऋण सहज ढंगले प्रदान गर्ने घोषणा पत्रमा उल्लेख छ ।
गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिँदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने र गर्भवती महिलाका लागि ५ लाख रुपियाँसम्मको जीवन बिमा निःशुल्क गर्ने पनि घोषणापत्रमा भनेको छ ।
राज्यद्वारा गरिब परिवारको रूपमा पहिचान भएका घरपरिवारले बैंक तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गरिने र त्यस्ता सबै परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउने एमालेको लक्ष्य छ ।
एमालेले राष्ट्रको सुरक्षा, सार्वभौमिकता र स्थायित्वका लागि जीवन अर्पण गर्ने बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सम्मान र कल्याण सुनिश्चित गर्ने पनि प्रतिबद्धता जनाएको छ । पेशागत मर्यादा, सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार तथा सिप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितता गर्दै उनीहरूको हक र हित संरक्षण गर्नेछौं ।’ घोषणा पत्रमा भनिएको छ ।
घोषणापत्रमा समृद्धिका २५ क्षेत्रका रूपमा अर्थतन्त्रको आकार आधा दशकमा सय खर्ब र एक दशकमा २ सय खर्ब पु¥याउने, स्वदेशमै रोजगारी र स्वदेशमै काम सिर्जना गर्ने, नागरिकमैत्री वास, गतिशील गाउँ, आर्थिक विकासको सहर, सम्मुनत सहर उद्योग क्षेत्रको विकास र उत्पादनमा वृद्धि र कृषि, रोजगारी र उन्नत व्यवसायको विषयलाई समेटिएको छ । त्यस्तै हरियो वन, पर्यटक वृद्धि सहकारीमा वचतकर्ताको हित, गुणस्तरीय शिक्षालगायत महत्वाकांक्षी योजना प्रस्तुत गरिएको छ ।
सोही अवसरमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेससँग आफूहरू मिलेर सरकार बनाएकै कारणले भदौ २३ र २४ गतेको दुर्घटना नभएको दाबी गर्दै भन्नुभयो– ‘ठूला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबीचको एकता फुटाउन भत्काउनका लागि दुर्घटना गराइएको हो ।
यो कुरो राम्ररी बुझ्नुपर्दछ ।’ संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने र अस्थिरताको चक्र निरन्तर सञ्चालन गरिरहने सम्भावना नभएपछि नयाँ ढंगको षड्यन्त्र सुरु भएको उहाँको कथन छ ।
मौकाको पर्खाइमा रहेको अस्थिरताको उत्प्रेरकलाई सर्वोच्च अदालतको आदेश अनुसार सरकारले सामाजिक सञ्जाल नियमनका लागि दर्ता हुन नआउने प्लेटफर्महरू बन्द गर्ने निर्णय गर्नासाथ बहाना मिलेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भदौ २३÷२४ को भयानक घटनालाई राज्यविरुद्धको एक गम्भीर षड्यन्त्रको रूपमा अथ्र्याउनुभयो । उहाँले अहिले ‘नयाँ कि पुरानो ’को असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न भइरहेको टिप्पणी पनि गर्नुभयो ।
प्रमुख प्रतिबद्धताहरू
–जेन–जी उमेर समूहका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा दिइने
– युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड
– युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक काड
–सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड,
–श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार रुपियाँ पु¥याउने
–स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता
–विपन्नहरूलाई २५ हजारसम्मको ऋण मिनाहा
– अर्थतन्त्रको आकार आधा दशकमा सय खर्ब र एक दशकमा २ सय खर्ब पु¥याइने
– गर्भवती महिलाका लागि ५ लाख रुपियाँ सम्मको जीवन बिमा निःशुल्क
–२० लाख सम्मको उद्यमी महिला निव्र्याजी ऋण
–सबैका लागि समाजिक सुरक्षा
–सुकुम्वासीलाई उचित बास
–कृषिमै रोजगारी र पर्याप्त आय
–खेतीयोग्य जमीनमा कुलो र नहर











प्रतिक्रिया