रामेछाप बस दुर्घटना : बेपत्ता युवाको शव भेटियो, मृतक संख्या १४ पुग्यो


रामेछाप ।

रामेछापमा गत मंगलबार भएको बस दुर्घटनामा बेपत्ता भएका एक युवाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय बिशाल सुनुवारको शव दुर्घटना स्थलबाट करिब १ सय मिटर तल सुनकोशी र तामाकोशी नदीको संगमस्थलमा भेटिएको हो।

यसअघि मन्थली नगरपालिका–२ का क्रियन तामाङको शव पनि फेला परेको थियो भने लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ अझै बेपत्ता छन्।

सो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले संयुक्त रूपमा खोजी अभियान जारी राखेका छन्। फेला परेको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।