ललितपुर।
७० वर्षीया रुक्मणी महर्जनले आफ्नो छोरा निरोजको नागरिकता दिलाउन ललितपुरका विभिन्न कार्यालयहरूमा झन्डै ५० पटक धाउनुभयो । ३० पटक जिल्ला प्रशासन कार्यालय पुग्दा पनि नागरिकता दिलाउन नसकेको दुःखद् अनुभव गर्नुभयो । २४ वर्षको उमेरमा नागरिकता पाउनुपर्ने छोरा निरोजको ३६ वर्ष पुगेपछि बल्ल आमाको नामबाट नागरिकता प्राप्त गर्ने सपना साकार भयो ।
रुक्मणीले भन्नुभयो– ‘जीवनको ठूलो इच्छा पूरा भयो ।’ उहाँले २०६३ सालको नागरिकता ऐनको दोस्रो संशोधन र २०८२ को नियमावलीको कसरतमा ठूलो संघर्ष गरेपछि अन्तत ः नागरिकता प्राप्त गर्न सफल हुनुभयो । ‘२०७२ र २०८० सालमा नागरिकता ऐन र नियमावलीका प्रक्रिया पूरा गर्दा पनि छोराले नागरिकता पाउन सकेका थिएनन् । किनभने म नेपाली हुँ, तर छोराले मेरो नामबाट नागरिकता पाउन नसक्ने गज्जबको स्थिति थियो’ – नागरिकता प्राप्तिका क्रममा रुक्मणीले भन्नुभयो ।
रुक्मणीका श्रीमान्को २५ वर्षअघि मृत्यु भएको थियो । उहाँ एक्लैले छोराछोरीलाई हुर्काउँदै आउनुभएको थियो । छोरीको विवाह भइसकेको थियो भने निरोजलाई नागरिकता नपाउँदा उहाँ निरन्तर चिन्तित हुनुहुन्थ्यो । उहाँले आफूलाई चिन्ने सबैसँग छोराको नागरिकताको लागि पहल गर्न आग्रह पनि गर्नुहुन्थ्यो ।
तर, २०८२ असोजमा नागरिकता ऐनको दोस्रो संशोधन र नयाँ नियमावली गत पुसमा स्वीकृत भएपछि रुक्मणीका लागि आशाको किरण देखियो । हप्तौं धाएर र प्रशासनको प्रक्रिया पूरा गरी सोमबार निरोजले नागरिकता पाउनुभयो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईबाट नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो । सो प्रमाणपत्र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको पहिलो वैवाहिक अंगीकृत नागरिकता थियो ।
नागरिकता प्राप्त गर्दा आमा रुक्मणीको अनुहारमा संघर्षपछि प्राप्त खुसी स्पष्ट देखिन्थ्यो । निरोजले अब प्यान नम्बर लिने, ड्राइभिङ लाइसेन्स निकाल्ने र कम्प्युटर सिक्ने इच्छा व्यक्त गर्नुभएको छ । १२ वर्षको प्रतीक्षा र कानुनी जटिलतासँग संघर्ष गर्दै प्राप्त यो नागरिकता उनीहरूको जीवनमा नयाँ अध्यायको सुरुवात बन्यो । नागरिकता ऐन दोस्रो संशोधनपछि निरोजजस्ता झन्डै १७ लाखले नागरिकता पाउनसक्ने आधार तयार भएको गृह मन्त्रालयलका अधिकारीहरू बताउँछन् ।











प्रतिक्रिया