काठमाडौं
काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य तालिम दिएर साना डाक्टर कार्यक्रम चलाएको छ । पहिलो चरणमा चार विद्यालयका विद्यार्थीलाई बालक्लव गठन गरी सोहीमार्फत तालिम सञ्चालन गर्ने भएको छ । कामपा शिक्षा विभागले विद्यालय छनोट गर्ने विषयमा शिक्षा र स्वास्थ्य विभागसँग परामर्श भइरहेको छ । विद्यालय छनोट भएलगत्तै तालिम सञ्चालन गरिने कामपाले जनाएको छ ।
विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रूपमा विकास गर्ने कार्यक्रमलाई ‘साना डाक्टर’ कार्यक्रम भनिएको हो । विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।
कामपाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेले यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोबियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी ५ विषयमा प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।
सहपाठी बालबालिकाबीचको आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित ३ महिना तालिम दिएपछि बाँकी ९ महिना विद्यार्थीहरूलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ । एउटा स्वास्थ्य क्लबमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ । स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गरेर ती विद्यार्थीलाई साना डक्टरको हैसियतमा अन्य विद्यालयमा स्वास्थ्य तालिम सञ्चालन गरिनेछ । ‘बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गरेको हो’ –कामपा शिक्षा र स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिम पाएका विद्यार्थीले अन्य विद्यालयमा सेवा प्रदान गर्नेछन् । ‘साना डाक्टरसम्बन्धी १ दिने कार्यशालामा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ । कामपाले सुरु गर्ने तयारी गरेको यो कार्यक्रम पहिलो हो ।
कार्यशालामा जनप्रतिनिधि, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी थिए । कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिकाबीचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गर्नुभयो ।
विद्यालयहरूमा किशोर किशोरी यौन तथा प्रजनन, आधारभूत स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो– ‘सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वाशयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रवारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहनेत गर्नुपर्नेछ ।’
कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले नमुना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा बृहत् कार्यक्रम तर्जुमा गरिने बताउनुभयो । सम्भवतः यो कार्यक्रम विद्यालयहरूमा पहिलो हो । यसलाई नतिजा प्रदान गर्ने बनाउने उहाँको भनाइ थियो । क्षेत्रगत पृष्ठपोषण दिने क्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बालमैत्री स्थानीय शासनका लागि विभागले विद्यालयहरूमा क्लब बनाउनुपर्ने कार्यक्रमका बारेमा कुरा गर्दै, स्वास्थ्य विभागसँग मिलेर काम गर्ने योजना सुनाउनुभयो ।











प्रतिक्रिया