काठमाडौं ।
नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस–२०८२ का अवसरमा आयोजना हुने कार्यक्रमको अन्तिम पूर्वाभ्यास सम्पन्न गरेको छ। बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित पूर्वाभ्यासको प्रधानसेनापति अशोक राज सिग्देलले निरीक्षण गरेका हुन्।

नेपाली सेना स्थापना दिवसको २६३औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ३ गते महाशिवरात्रिको दिन विशेष समारोह आयोजना हुँदैछ। सोही कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन अन्तिम तयारीस्वरूप पूर्वाभ्यास गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

पूर्वाभ्यास कार्यक्रममा प्रधानसेनापतिले श्री नं. १ विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण तथा राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई ‘युनिट झण्डा’ प्रदान गरे। त्यसैगरी, केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता–२०८२ मा प्रथम र द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गरिएको छ।
प्रधानसेनापति व्यायाम प्रतियोगिता–२०८२ अन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने युनिटहरूलाई पनि सम्मान गरिएको थियो। उक्त प्रतियोगितामा युद्धक गणतर्फ श्री नयाँ श्रीनाथ गण, युद्ध सहायक गणतर्फ श्री त्रिनेत्रदल गण तथा युद्धक गुल्मतर्फ श्री इन्द्रदल गुल्म प्रथम भएका छन्।

प्रकृति संरक्षण ट्रफी प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुने सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा टोलीअन्तर्गत श्री नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षा टोलीअन्तर्गत श्री संग्राम शार्दूल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको छ।

त्यस अवसरमा सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने सैनिक तथा अधिकृतहरूलाई सम्मान गरिएको थियो। साथै, मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका व्यक्तिहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सेनाले जनाएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ सेना दिवस मनाइने कार्यक्रम रहेको छ।











प्रतिक्रिया