नेपालको लागि सबै खेलमा जित आवश्यक

0
Shares

काठमाडौं ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत् नेपालले सातौं चरणको त्रिकोणात्मक सिरिज यही मंगलबारदेखि खेल्दैछ । यसमा नेपालले अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ । नेपाल १८ अंकसहित सातौं स्थानमा छ भने अमेरिका ३६ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड ३४ अंक लिएर दोस्रो स्थानमा रहेको छ । यानि कि नेपालभन्दा अमेरिका र स्कटल्यान्ड झण्डै डबल अंकले अगाडि छन् ।

वानडे फरम्याटको यस त्रिकोणात्मक सिरिजमा हरेक टोलीले एक अर्कासँग दुई–दुई खेल खेल्नेछ । जुन हिसाबमा एक टोलीले चार खेल खेल्नेछ । यसमा सबै खेलमा जित हासिल गरे पूर्ण ८ अंक बटुल्न पाउनेछ ।

यदि, सबै खेल जित्न सकेमा नेपालले बाँकी दुई त्रिकोणात्मक सिरिजमा कमसेकम १० अंक मात्रै जोड्न सकेमा पनि कूल ३६ अंक हुनेछ । यसले नेपाललाई वानडे मान्यता जोगाउने संभावना पनि बलियो हुन सक्नेछ ।

यो प्रतियोगितामा आईसीसीसँग एसोसिएट ८ टोलीले सहभागिता जनाएको छ । जसमा शीर्ष चार स्थानमा आउने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिनेछ । त्यसबाहेक ती टोलीहरू एकदिवसीय (५० ओभर) विश्वकपको ग्लोबल क्वालिफायरमा सीधै छनोट पनि हुन्छन् ।

अहिलेको समीकरणअनुसार अमेरिकाको ओडीआई मान्यता चाहिँ जोगिने पक्का जस्तै छ । शीर्ष ४ मा पर्न नसक्ने टोलीहरूले चाहिँ विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालले अब, १२ खेल खेल्न बाँकी छ । अहिले चार खेल घरेलु मैदानमा खेल्नेछ भने बाँकी आठै खेल नेपालबाहिर खेल्नु पर्नेछ ।

हाल टोलीहरूको स्थिति
अमेरिकाले यही मंगलबारदेखि हुने सिरिजमा चार खेल खेलेपछि अर्को दुई सिरिज खेल्न बाँकी हुनेछ । यसको मतलब अमेरिकाले १२ खेल खेल्दा कमसेकम १० अंक जोडेपनि ४६ अंक हुनेछ । यस्तै, स्कटल्यान्डले नेपालमा चार खेल खेलेपछि अन्तिम सिरिज मात्रै खेल्न बाँकी हुनेछ । यसैले स्कटल्यान्ड नेपालको लागि कठिन प्रतिद्वन्द्वी हुनेमा नकार्न सकिँदैंन ।

तेस्रो स्थानमा रहेको ओमानको ३१ अंक रहेको छ । ओमानले २ सिरिज खेल्न बाँकी छ । ओमानले पनि ४० अंक कटाउन सक्ने संभावना रहेको छ । चौथो स्थानमा रहेको नेदरल्यान्ड्ससँग २८ अंक छ र तीन सिरिज अझै खेल्न बाँकी छ । जसअनुसार नेदरल्यान्ड्सको पनि ४० अंक कटाउने संभावना छ ।

पाँचौं स्थानमा नामिबिया र छैटो स्थानमा क्यानडा रहेका छन् । नेपालभन्दा नामिबिया र क्यानडा केही अंकले अगाडि छन् । नेपालको १८ अंक हुँदा नामिबियाको २२ र क्यानडाको २१ अंक रहेको छ । अहिले घरेलु मैदानमा हुने सिरिजबाट नेपालको लागि यी दुबै टोलीलाई उछिन्ने सुन्दर मौका छ ।

कीर्तिपूरमा हुने नेपालको खेलहरू
–स्कटल्यान्डविरुद्ध वैशाख २९ गते मंगलबार
–अमेरिकाविरुद्ध जेठ २ गते शनिबार
–स्कटल्यान्डविरुद्ध जेठ ४ गते सोमबार
–अमेरिकाविरुद्ध जेठ ८ गते शुक्रबार