रारा अल्ट्रा म्याराथनमा बुढा प्रथम


मुगु ।

कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत ५४ किमी दौडमा जुम्लाका धिर बुढा प्रथम भएका छन् ।

उनले दौड ६ घण्टा १२ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । प्रतियोगितामा स्वदेश तथा विदेशका ५१ धावकहरूको उल्लेखनीय सहभागिता रहेको छ भने ५ र १० किलोमिटर गरि कुल ११ सय जना दौडिएको आयोजकले जनाएको छ ।

जुम्ला–रारा अल्ट्रा म्याराथन नेपालकै चर्चित साहसिक दौडमध्ये एक मानिन्छ । यस प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।