पाठक पत्र : भताभुङ्ग देशमा लथालिङ्ग चाला


विदेशीसामु घुँडा टेक्ने दलालहरुलाई भोट दिए मन दुख्छ, जीउ नै सिरिङ्ग हुन्छ । देशको ड्राइभर गतिलो भए, इमानदर भएमा देश नै राम्रो हुन्थ्यो र शहरदेखि स्थानीय निकायसम्म राम्रो हुन्थ्यो । मित्र राष्ट्र चीन सरकारको सहयोगमा स्थापित दर्जनौँ कलकारखाना कौडीको मूल्यमा बिक्री गरियो । यसलाई कसरी राम्रो मान्ने ?

हाम्रो समाजमा पनि दुई बोतल बियर र रक्सीको भरमा बिक्ने प्रशस्त पाइन्छन् । आफ्ना सन्ततिलाई शिक्षा, संस्कृति, रहनसहन, आदर, गौरवका कुराको संस्कार दिनुको सट्टा सैतानको व्यवहार सिकाउने गर्छन् र आफ्नो खुट्टामा आफैँ बन्चरो हान्छन् । देशघाती एमसीसी, नागरिकता विधेयक पास गर्छन् । सम्झौताहरु पास गर्ने ड्राइभर कांग्रेस, एमाले, माओवादीसमेत देश बरबाद पार्नको लागि छिन्–छिन्मा गठबन्धन गर्छन् ।

कांग्रेस नेता गगन थापा (भावी प्रधानमन्त्री भनिएका) एमसीसी पास ग¥यौँ भने चारपाटा मुडेर थानकोट कटाइयोस् भन्थे, घरी छाती ठोकेर एमसीसी पास गर्न सक्छु भन्थे । अरू राष्ट्रसँग मागेर देश चलाउनेलाई के भन्ने ? त्यसरी देश चलाउने भनेको तपाईं–हाम्रो सिरानीमा अमेरिकन सर्प राखेर सुत्नुजस्तै भयो । एकछाक खान र आ–आफ्नो स्वार्थको निमित्त पार्टीको सहानुभूति, संस्कारको पालना नगरी पोइल जान्छन् । प्रजातन्त्रको नाउँमा लुटतन्त्र गर्छन् । धन सम्पत्ति टन्नै हुन्छ तर उनीहरुमा इज्जत–प्रतिष्ठा हुँदैन ।

तत्कालीन समयमा सूर्यविनायक नगर हस्पिटल उद्घाटनमा मैले जिज्ञासा राखेँ– ‘केपीज्यू, तपार्इं प्रधानमन्त्री हुनुहुन्छ, एमसीसी कुनै हालतमा पास नगर्नुस्, तपाईं सगरमाथाजस्तै उच्च बन्नुस् ।’ त्यस्तै उद्योगमन्त्री महेश बस्नेतलाई पनि भनेको थिएँ । भक्तपुरमा ख्वप विद्यालयको स्वीकृति नदिनु विशाल पार्टीको विशाल मन नभएको ठहरियो । माओवादी जनआन्दोलनमा ज्यान गुमाएका १७ हजार मानिस र भर्खरै जेन्जी आन्दोलनमा ज्यान गुमाएका ७६ जनाको जिम्मा कसले लिने हो ? देशको प्रमुख संरचनाहरु जलेको जिम्मा कसले लिने, खर्बाैंको क्षतिको जिम्मा कसले लिने ?

शासकवर्गहरु जसरी एउटा माहुरी फूलमा भुल्छ, त्यस्तै गरी चास्नीमा भुलिरहने गर्छन् । तर नेमकिपाले सडकदेखि सदनसम्म एमसीसीको विरोध गरेको छ । आमाले आफ्नो सन्तानको माया गरेजसरी नै नेमकिपाले आफ्नो देश चन्द्र–सूर्यजस्तै ठानेको छ । आमाको ऋण कसैले तिर्न सक्दैन । अन्त्यमा यति भन्छु– भाले लागेको अण्डाले मात्र चल्ला काढ्न सक्छ । प्यास लाग्यो भनेर विष खानुहुँदैन, त्यस्तै नयाँ भन्दैमा विदेशी दलाल र मतियारलाई भोट दिनुहुँदैन ।

– तुल्सीनारायण लाखेमरू
सूर्यविनायक–८, जगाती, भक्तपुर ।