काठमाडौं ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने उद्देश्यसहित काठमाडौंमा रहेका दाङका युवाहरूको भेला सम्पन्न भएको छ।
शंकरदेव क्याम्पसको सभाकक्षमा आयोजित दाङ–काठमाडौं युवा भेलाले युवा नेता हरिस भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ। भेलाले भविष्यमा यस समूहलाई नेपाली कांग्रेस दाङ–काठमाडौं सम्पर्क समितिका रूपमा रुपान्तरण गर्ने तथा तत्कालका लागि निर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय सहभागिता जनाउने निष्कर्ष निकालेको छ।
भेलालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले वर्तमान अवस्थामा लोकतन्त्र र संविधानमाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै यसको रक्षा र सुदृढीकरणका लागि कांग्रेसजन एकजुट हुनुपर्नेमा जोड दिए।
यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व सभापति विपुल पोखरेलले उच्च मनोबलका साथ चुनावी प्रचार–प्रसारमा जुट्न आग्रह गर्दै सम्भव भएसम्म दाङ पुगेर प्रत्यक्ष रूपमा अभियानमा सहभागी हुन युवाहरूलाई आह्वान गरे। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले दाङको चुनावी माहोल सकारात्मक बन्दै गएको उल्लेख गर्दै सबैको साथ र सहयोगले कांग्रेसले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
युवा नेता हरिस भण्डारीले आगामी दिनमा पनि यस्ता भेला तथा छलफललाई निरन्तरता दिँदै दाङको चुनावी माहोलसँगै विकास–निर्माणका विषयमा समेत बहस अघि बढाइने प्रतिबद्धता जनाए। उनले वर्तमान निर्वाचनमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण रहेकाले युवा तथा विद्यार्थीहरू सचेत, जिम्मेवार र सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।
फागुन २१ गते हुने निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ बाट युवा व्यवसायी तथा महासमिति सदस्य किरण किशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी कांग्रेसका उम्मेदवार रहेका छन्।











प्रतिक्रिया