पञ्चेबाजा संरक्षणमा भीरकोटे महिला

470
Shares

स्याङ्जा । जिल्लाको भीरकोटका महिलाहरु पञ्चेबाजा बजाएर आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् । नगरको वडा नं. ६ का महिलाहरु व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सक्ने भएपछि वडा नं. ५ का महिलाहरुले पनि यो सीप सिक्न थालेका छन् । हाल वडा नं. ५ ले महिलाको सीप विकास, आत्मनिर्भरता र स्थानीय संस्कृतिको संरक्षणलाई केन्द्रमा राख्दै दुई महिने पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको छ ।

परम्परागत लोकबाजालाई जीवित राख्दै महिलालाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यसहित शुरु गरिएको उक्त तालिममा स्थानीय आमा समूहका महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । तालिममा स्वरेक चण्डी कालिका आमा समूह र डाँडामाथि वारि आमा समूह गरी दुई समूहका २६ जना महिला सहभागी छन् ।

विगतमा पुरुषहरुले मात्रै पञ्चेबाजा बजाउने यस नगरपालिकामा हाल महिलाहरु हरेक विवाह, महोत्सव, दिवसीय कार्यक्रम, उत्सवलगायतमा सहभागी हुने गरेका छन् । सोही अनुसार वडा कार्यालयको पहलमा सञ्चालन भएको यो तालिमले महिलालाई व्यावहारिक सीप प्रदान गर्दै उनीहरुलाई उद्यमशीलतर्फ उन्मुख गराउने लक्ष्य लिएको वडा कार्यालयले जनाएको छ । पछिल्लो समय आधुनिकताको प्रभावले परम्परागत बाजा तथा लोकसंस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यस्तो तालिमले स्थानीय पहिचान जोगाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यसबाट महिलाहरुलाई केही मात्रामा भए पनि आयआर्जनसँगै पञ्चेबाजाको संस्कृति संरक्षण भइरहेको छ । वडा अध्यक्ष कृष्णबहादुर थापाका अनुसार तालिमको प्रमुख उद्देश्य महिलालाई उद्यमी बन्न प्रेरित गर्नु, आम्दानीको दिगो स्रोत सिर्जना गर्नु तथा पुस्तौँदेखि चलिआएको पञ्चेबाजा, कला र संस्कृतिको संरक्षण गर्नु हो ।

‘महिलाहरुलाई सीपमूलक तालिम दिँदा उनीहरु आत्मनिर्भर मात्र होइन, परिवार र समुदायको आर्थिक अवस्थासमेत बलियो हुन्छ’, अध्यक्ष थापाले भन्नुभयो, ‘यस्ता कार्यक्रमले रोजगारीका अवसर विस्तार गर्नुका साथै हाम्रो सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् ।’

पुरुषहरुले बाजा बजाएको मात्र देखेकी मौसमी थापा अहिले आफैँले पञ्चेबाजा बजाउने भएपछि आफैँ दंग पर्नुहुन्छ । तालिममा अनुभवी तथा दक्ष प्रशिक्षक अर्जुन परियार, देवेन्द्र परियार र विक्रम परियारको सक्रिय संलग्नता रहेको छ । प्रशिक्षकहरुले पञ्चेबाजाका विभिन्न वाद्ययन्त्र बजाउने आधारभूत सीपदेखि उन्नत अभ्याससम्म, तालमेल, समूहगत प्रस्तुतीकरण र व्यावहारिक प्रयोगमा केन्द्रित रहेर प्रशिक्षण दिइरहेका छन् । उनीहरुका अनुसार महिलाहरुले छोटो समयमै राम्रो प्रगति गरिरहेका छन् र भविष्यमा व्यावसायिक रुपमा समेत बाजा बजाउन सक्षम हुनेछन् ।

गाँउघरमा मेला, जात्रा, उत्सव, चाडबाड, बिहेवारीलगायतका कार्यमा पुरुषहरुले बाजा बजाएको देखेका महिलाहरु अहिले आफैँ बजाउन सक्ने भएका छन् । तालिममा सहभागी आमा समूहका महिलाहरुले यस अवसरप्रति खुशी व्यक्त गरेका छन् । ‘घरधन्दा र कृषि काममै सीमित रहँदै आएका हामीलाई यस्तो तालिमले नयाँ सम्भावना देखाएको छ’, सहभागी महिलाहरुको भनाइ छ, ‘आफ्नै ठाउँमा बसेर सीप सिक्न पाउँदा उत्साह बढेको छ ।

’ उनीहरुले तालिमपछि समूह बनाएर विभिन्न सांस्कृतिक कार्यक्रम, विवाह, चाडपर्व तथा अन्य सामाजिक समारोहमा व्यावसायिक रुपमा पञ्चेबाजा बजाउने योजना बनाएको पनि बताएका छन् ।

तालिम लिन थालेको छोटो अवधिमै महिलाहरुले दमाहा (नगरा), छिल्लर (झ्याली), ट्याम्को, नरसिंहा, र सहनाई पाँचवटै बाजा बजाउन थालेपछि अन्य महिलाहरुमा पनि उत्साह थपेको छ । यस कार्यक्रमका लागि भीरकोट नगरपालिकाको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत १ लाख ५० हजार रुपियाँ र वडा कार्यालयबाट १ लाख ५० हजार रुपियाँ गरी कुल ३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

साथै तालिम अवधिभर सहभागीहरुलाई खाजा सुविधासमेत उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । सीमित स्रोत–साधनका बाबजुद पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको भन्दै स्थानीयवासीले वडा कार्यालयको प्रशंसा गरेका छन् ।