आजको राजनीतिक परिदृश्य


आज देश जे–जस्तो अवस्था छ, त्यसको जिम्मेवार अहिलेसम्म पालैपालो शासन सञ्चालन गर्ने मुख्य दलहरु हुन् । पछिल्लो समय भएको जेनजी विद्रोह तिनै दलका शासकहरुको कुशासन र भ्रष्टाचारबाट सृजित घटना हो । यसअघि कतिपय मन्त्रीको पहलमा सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइएको पनि थियो तर राज्यको दोहनबाट शक्तिशाली भएका बिचौलियाले त्यस किसिमका प्रयासहरुलाई रोक्न सरकार परिवर्तन गर्ने खेलसमेत गरेको जनताले बिर्सिएका छैनन् ।

यतिखेर निर्वाचनका सम्मुख पुराना दलहरुप्रति जनतामा देखिएको वितृष्णा वा राजनीतिप्रति जनताको बढ्दो उदासीनताको जिम्मेवारी यिनै दलहरुले लिनुपर्छ । तर दुर्भाग्य ! दलहरुले आफ्नो गल्तीप्रति आत्मालोचना गरेर सुधार गर्ने प्रतिबद्धतासमेत जनाउन आवश्यक ठानेका छैनन् । प्रतिबद्धता जनाएकाहरुको हकमा पनि जनताले पत्याउन सकिरहेका छैनन् । अर्कोतर्फ लोकप्रियताको राजनीति झाङ्गिएको छ । लोकप्रियताको राजनीतिले देशको वास्तविक समस्या समाधान गर्न नसक्ने भन्दै आएका दलहरुले आफू सत्तामा हुँदा गरेका काम भने बिर्सिने गरेका छन् । आजको राजनीतिको परिदृश्य यी नेताहरुको कृत्यबाटै निसृत भएको हो ।

मुलुक अहिले प्रतिनिधिसभाको निर्वाचन उन्मुख भइरहेको छ । सिद्धान्ततः निर्वाचन लोकतन्त्र नाप्ने एक यन्त्र हो, लोकतन्त्रको पर्याय भने अवश्य होइन । तर हरेक निर्वाचनबाट जनताले सेवक होइन, शासक पाएको अनुभूति गर्दै आएका छन् । आखिर हरेक निर्वाचनमा नेताबाट कार्यकर्ता र जनता ठगिने क्रमले निरन्तरता पाउँदा कतिपयमा निर्वाचनका बखत कमाउनुपर्छ भन्ने सोचले प्रश्रय पाउँदै गएको छ । जसले पैसा बाँड्छ, पेट्रोल खर्च दिन्छ, ती नेतालाई चुनाव जिताउने क्रममा केहीले क्षणिक फाइदा त उठाउलान् तर देश र जनताले सधैँ हार्दै आएको छ । लोकतन्त्र पराजित हुँदै आएको छ । यसले गर्दा निर्वाचन कर्मकाण्डमा सीमित हुने गरेको छ । यस्तो अवस्थामा घोषणापत्र केवल कर्मकाण्डीको उपकरण बनेको छ । न यसमा प्रतिबद्धता छ, न जनताको विश्वास देखिएको छ ।

निर्वाचन खर्च महँगो हुँदा यसले भ्रष्टाचार वृद्धिमा मलजल गर्दछ । हरेक निर्वाचन महँगो हुँदै गएपछि त्यसको सह–उत्पादनको रुपमा भ्रष्टाचार बढ्दै गएको छ । दल, उम्मेदवार र बिचौलियाको सम्बन्ध हरेक निर्वाचनमा कसिलो हुँदै गएको छ । यी दृश्य देखेका–भोगेका जनताले कसलाई जनताको सेवक र भरोसायोग्य रुपमा पत्याउने ? यही कमी–कमजोरीले आज नयाँ शक्तिहरुको उदय भइरहेको छ । नयाँ शक्तिहरुले पनि चुनाव जितेपछि जनतालाई धोका दिने हुन् कि जनताको सेवक बन्ने हुन् ? अहिले यसै भन्न सकिन अवस्था छैन । अहिले विचार, सिद्धान्त र नीतिभन्दा पनि व्यक्तित्वको लोकप्रियता मौलाएको स्थिति छ । यसको जगमा समृद्धिको सपना देखाइएको छ । त्यसैले नघोरिई कसैलाई विश्वास गरिहाल्न सकिने अवस्था छैन ।

आज निर्वाचनमा होमिएका दल र उम्मेदवारहरुले देशको अहिलेको अवस्थाको सम्यक ढंगले मूल्यांकन गर्न सकेको खण्डमा समस्या समाधानको दिशातर्फ जान सकिन्छ । तर सबै दलहरु यतिखेर निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । पुराना दलहरु अलि रक्षात्मक अवस्थामा देखिन्छन् भने नयाँ दलहरुले समस्या समाधानको बाटो दिन सकिरहेका छैनन् । यहाँनिर पटक–पटक परीक्षण भइसकेको नेतृत्व र परीक्षण हुन बाँकी नेतृत्वका बीच प्रतिस्पर्धा देखिएको छ । यस अवस्थामा आत्मालोचना गर्दै गलत कुराको विरोध र सही कुरालाई अगाडि राखी जनताको मन जित्नेतर्फ लाग्न सके मात्र लोकतन्त्रतर्फ थोरै पाइला चालेको ठहरिनेछ ।