राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम


काठमाडौं ।

नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएशनको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय राफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम भएको छ।

राफ्ट स्लालोम विधाको फाइनलमा बिब नम्बर १०८ को टोलीले १७२.३८ सेकेन्डको उत्कृष्ट समय निकाल्दै ३०० पूर्णांकका साथ पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा १७५.८५ सेकेन्डको समयसहित प्याडल नेपाल ‘बी’ दोस्रो र १८४.७९ सेकेन्डमा दूरी पार गर्दै भोटेकोशी एड्भेन्चर क्लब ‘ए’ तेस्रो हुन सफल भए । दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २७६ र २५८ अंक प्राप्त गरेका छन् ।

कुल १२ वटा व्यावसायिक टोलीहरूले प्रतिस्पर्धा गरेको यस च्याम्पियनसिपमा राफ्टिङ एड्भेन्चर नेपाल चौथो र नेपाल कायक क्लब पाँचौँ स्थानमा रहे । प्रतियोगिताको सम्पूर्ण विधाको ओभरअल फाइनल मंगलवार हुनेछ।