सुर्खेतमा चुनावी रस्साकस्सी: पहिले सहकर्मी, अहिले प्रतिस्पर्धी

2.63k
Shares

सुर्खेत । 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका अन्य जिल्ला लगायत देशैभरीजसो नयाँ र पुराना दल तथा अनुहारबीच प्रतिस्पर्धा हुँदै गर्दा सुर्खेतको चुनावी भीडन्त भने रोचक हुने भएको छ ।

किनकि, कुनै समय एउटै पार्टी संगठनमा रहेर सहकर्मीका रुपमा काम गरिसकेका चार जना  उम्मेदवार दुई फरक फरक दलबाट उम्मेदवार बन्दै आमने सामने भएको हुँदा यो निर्वाचन हेर्न लायक हुने भएको हो ।

नारायणकुमार कोइराला, २०७६ सालमा सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नियुक्त हुँदै गर्दा, अध्यक्षले मनोनित गर्ने पाँच जना सदस्यमध्ये एक थिए रमेश सापकोटा। उनै कोइराला पहिलो पटक सुर्खेत क्षेत्र नं.२ बाट कांग्रेसको उम्मेदवार बन्दै गर्दा तिनै सापकोटा राष्टिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा उनीसंग प्रतिस्पर्धा गर्न चुनावी मैदानमा उभिएका छन् ।

सुर्खेतमा प्रायः भनिने पूर्णबहादुर खड्का र हृदयराम थानीको गुटगत राजनीति हुने बेला कोइराला र सापकोटा दुबै एकै गुटमा थिए। सोही  कारण कोइरालाले नगर विकास समितिमा आफ्नालाई  सघाउन सापकोटालाई सदस्यमा तानेका थिए ।

सापकोटा, पार्टीको १४ औं महाधिवेशनका बेला खेमा परिवर्तन गरी खड्का पक्षतिर ढल्किंदैं पार्टीको नगर कार्य समिति (वीरेन्द्रनगर) को सचिव हुँदै गर्दा रक्षात्मक अवस्थामा पुगेको थानी पक्षका तर्फबाट कोइराला नगर सभापतिमा पराजित हुन पुगेका थिए ।

शान्ति तथा द्वन्द्व व्यवस्थापनमा स्नात्तकोत्तर तथा कानूनमा स्नातक गरेका कोइराला राजनीतिमा नेपाल विद्यार्थी संघ र तरुण  दल हुँदै पार्टीको क्षेत्रीय सभापति भए काम गरेको अनुभव छ ।

यता यातायात प्रा.लि (समिति) को अध्यक्षसमेत सापकोटा भने गत अधिवेशनबाट नगर समितिको सचिव भएका थिए । 

केही  व्यक्तिगत तथा व्यवसायिक कारण देखाउँदै कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेलगत्तै आसन्न निर्वाचनमा कांग्रेस पृष्ठभूमि भएका दुई जनाको चुनावी भीडन्त हुने भएको हो ।

अघिल्लो चुनावसम्म कांग्रेसका सदावहार उम्मेदवार बन्ने हृदयराम थानीले यस पटक चुनाव नलड्ने घोषणा गरेका कारण थानी निकटस्थ कोइरालाले अवसर पाए।उनै थानीलाई यसअघिसम्म जिताउन प्रचार प्रसार र निर्वाचन अभियानको भित्री तहमा बसेर निरन्तर सघाउने सापकोटा र थानीको भीडन्त भने टरेको छ । 

क्षेत्र नं. २ भन्दा अझ बढी  रोमाञ्चक प्रतिस्पर्धा भने सुर्खेतको क्षेत्र नं. १ मा हुने देखिन्छ । किनकि, उक्त क्षेत्रमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको निर्वतमान उपसभापति र वर्तमान उपसभापति नै आमने सामने हुँदैछन् ।

केही  महिनाअघि मात्र कांग्रेसबाट रास्वपाबाट प्रवेश गरेलगत्तै चुनावी टिकट पाएका टेकबहादुर सिंह र हालका पार्टी उपसभापति विष्णुबहादुर खड्काबीच क्षेत्र नं.१ मा चुनावी होडबाजी हुँदैछ ।

दुई देशकदेखि मध्यपश्चिम यातायात प्रा.लिका अध्यक्ष रहेका खड्का पहिलो पटक संसदीय चुनाव फेश गर्दैछन् भने सिंहले यसअघि २०७४ को निर्वाचन भोगिसकेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल हुँदा एक्लै चुनाव लडेको कांग्रेसका तर्फबाट सुर्खेतको निर्वाचन क्षेत्र नं.१(क) बाट उम्मेदवार बनेका सिंह थोरै मतान्तरले पराजित भए ।

नेकपा माओवादीका ठम्मरबहादुर विष्टले १५ हजार ३ सय ५२ मतसहित विजयी हुँदा सिंहले भने उनीभन्दा जम्मा २ सय २० मत कम अर्थात १५ हजार १ सय ३२ मत पाएर कडा चुनौति दिएका थिए ।

कांग्रेसका निर्वतमान केन्द्रीय पार्टी उपसभापति पूर्णबहादुर खड्कले चुनाव नलड्ने घोषणा गरेपछि उनका सहोदर भाइ विष्णु मत परीक्षण गर्न मैदानमा उत्रिएका हुन् ।

एकलौटी जस्तो बनेको पार्टीको १४ औं महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशनबाट पार्टी उपसभापति बनेका खड्काको लागि यो डेब्यू निर्वाचन हो ।