माछा किनेर समुन्द्रमा छोड्ने दम्पती चर्चामा 


भारतको दिल्लीका एक जोडीले पाँच किलो जीवित माछा किनेर पुनः समुद्रमा छाडेपछि सामाजिक सञ्जालमा उनीहरूको चर्चा चुलिएको छ। जनावरप्रतिको दया देखाउन गरिएको उक्त कामलाई लिएर इन्टरनेट प्रयोगकर्ताहरू दुई पक्षमा विभाजित भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त जोडी तमिलनाडुको धनुषकोडी समुद्री तटमा पुगेका बेला स्थानीय माछा मार्ने व्यवसायीबाट करिब पाँच किलो जीवित माछा किनेका थिए। त्यसपछि उनीहरूले ती माछालाई समुद्रमा लगेर पुनः छाडिदिएका थिए।

एक महिलाले समुद्रको पानीमा माछा छाडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो। नोभेम्बर ६ आसपास सार्वजनिक भएको भिडियोले हजारौँ प्रयोगकर्ताको ध्यान खिचेको थियो।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले जोडीको कामको प्रशंसा गर्दै यसलाई जीवप्रतिको दया र करुणाको उदाहरण भनेका छन्। उनीहरूको तर्कमा, ती माछामध्ये एउटा मात्रै पनि बाँचेर आफ्नो प्राकृतिक जीवन बिताउन सफल भयो भने पनि यो प्रयास सार्थक हुन सक्छ।

तर, अर्कोतर्फ कतिपयले भने उक्त कार्यको आलोचना गरेका छन्। माछा मार्ने व्यवसायीबाट माछा किनेर समुद्रमै छाड्दा माछा मार्ने व्यवसायलाई नै आर्थिक सहयोग पुगेको उनीहरूको तर्क छ। पुनः समुद्रमा छाडिएका माछा अर्को पटक माछा मार्ने जालमा पर्न सक्ने भएकाले यसले दीर्घकालीन समाधान नदिने उनीहरूको भनाइ छ। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।