काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसमा नेपालको संविधानबमोजिम मर्यादाक्रम हेरफेर गरिएको जनाएको हो।
नयाँ मर्यादाक्रमअनुसार १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँ सम्हालेका छन्।
मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालय, तेस्रो वरीयतामा रहेकी सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, चौथो वरीयतामा रहेका शिशिर खनाललाई परराष्ट्र मन्त्रालय र पाँचौँ वरीयतामा रहेका विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि सातौँ वरीयतामा रहेकी गौतम नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा पुगेकी छन्।
त्यसैगरी छैटौँ वरीयतामा रहेका सुधन गुरुङलाई गृह मन्त्रालय, सातौँ वरीयतामा रहेका सुनिल लम्साललाई पूर्वाधार विकास मन्त्रालय र आठौँ वरीयतामा रहेका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
नयाँ मर्यादाक्रमअनुसार सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै खडकराज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार मन्त्रालय, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण मन्त्रालय, दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो।









तपाईंको विचार लेख्नुहोस्