एमाले फेरि सरकारमा जान्छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फेरि सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले जनताको समर्थन र संघर्षबाट सरकारमा पुगेको भन्दै पुनः सरकारमा फर्किने बताएका हुन् ।

उनले एमाले कसैको कृपा वा आशीर्वादमा नभई जनताको समर्थनबाट सरकारमा पुगेको जिकिर गरे ।

‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ,’ ओलीले भने, ‘देश बनाउँछ एमालेले । विकासका कामलाई फेरि अगाडि बढाउँछ ।’

उनले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझ स्पष्ट रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।