१ किलो ६०५ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ।मंसिर २ गते बिहान ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर H9353 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लीलाई नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विमानस्थल भन्सार क्षेत्रको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा लीले बोकेको ज्याकेटको खल्तीबाट लुकाइएका चारवटा पोका फेला परेका थिए। ती पोकामा १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पदार्थ रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएका लीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ।बरामद पदार्थ वास्तविक सुन हो वा होइन भन्ने आधिकारिक परीक्षणबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।