विराटनगरमा राति २ बजेसम्म होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालन गर्न पाइने


काठमाडौँ ।

विराटनगर क्षेत्रमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले ‘रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ पारित गरेसँगै व्यवसाय सञ्चालनको बाटो खुलेको हो।

नयाँ मापदण्डअनुसार लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी तथा गजल रेस्टुरेन्ट राति २ बजेसम्म सञ्चालन गर्न पाइनेछ। यस्तै, किराना, पान, मिठाई, चिया, आइसक्रिम पसल तथा रेस्टुरेन्टले आवश्यक मापदण्ड पूरा गरी अनुमति लिएर राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न सक्नेछन्।

व्यवसाय सञ्चालनका लागि वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ। अनुगमन समितिको स्थलगत निरीक्षणपछि मात्र अनुमति प्रदान गरिनेछ।

मापदण्डमा सुरक्षा, ध्वनि नियन्त्रण, सीसीटीभी, अग्नि सुरक्षा, पार्किङ, सुरक्षा गार्ड तथा सुरक्षित यातायातको व्यवस्था अनिवार्य गरिएको छ। मदिरा बिक्री तथा सेवनमा भने निश्चित समयसीमा तोकिएको छ।

त्यस्तै, १८ वर्षमुनिका व्यक्तिलाई डान्सबार, पब तथा डिस्कोमा प्रवेश निषेध गरिएको छ। नियम उल्लंघन गर्ने व्यवसायको अनुमति तत्काल रद्द गरी कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।