छठ पूजा स्थलमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ।

सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजा स्थलमा तोडफोड भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न गरी श्रद्धालुहरू घर फर्किएपछि अज्ञात व्यक्तिहरूले पूजा स्थलमा क्षति पुर्‍याएका थिए। घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटना २९ गते राति करिब ११ः३० बजे भएको थियो। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तोडफोडबाट क्षति पुगेको पूजा स्थल पुनर्निर्माण गरी पहिलेको अवस्थामा फर्काइएको पनि प्रहरीले जनाएको छ।