चोरी भएका ५० ओटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौं।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार एक कार्यक्रम आयोजना गरी २५ वटा स्कुटर र २५ वटा मोटरसाइकल सवारीधनीलाई फिर्ता गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षमा मात्रै खोजतलासका क्रममा ३०३ वटा चोरी भएका सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ।

त्यस्तै, मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरहरूमा पठाइएको छ। कारबाहीका क्रममा तीनवटा चारपाङ्ग्रे गाडी र दुईवटा मोटरसाइकल भन्सार कार्यालयमा पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।

सुवेदीले दुईपाङ्ग्रे सवारीसाधन मानिसको दैनिक जीवनसँगै सपना, संघर्ष र भावनात्मक सम्बन्ध जोडिएको सम्पत्ति भएको बताए। अरूको सम्पत्ति चोरी गरेर खुसी हुने प्रवृत्ति गम्भीर अपराध भएको उल्लेख गर्दै उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही आवश्यक रहेको बताए।

सवारीसाधन चोरी नियन्त्रणका लागि प्रहरीले जनशक्तिसँगै आधुनिक प्रविधिको प्रयोग र निगरानीलाई तीव्र बनाएको पनि उनले जानकारी दिए। व्यक्तिगत सतर्कता, प्रविधिको प्रयोग र भौतिक सुरक्षाबीच उचित समन्वय हुन सके मात्रै सवारीसाधन चोरी नियन्त्रण प्रभावकारी हुने उनको भनाइ छ।

यसैबीच, ट्राफिक प्रहरीले सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन विभिन्न सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक तथा डिस्क लक प्रयोग गर्न र सुरक्षा साइरन तथा जीपीएस जडान गर्न प्रहरीले सुझाव दिएको छ।

त्यस्तै, मानिसको आवतजावत कम हुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

सवारीसाधन हराएमा वा चोरी भएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ। साथै, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।