सरकारलाई सचेत गराउनु मेरो जिम्मेवारी हो, पार्टीभित्रको बेथिति र अराजकता सहन्नँ : रवि लामिछाने


काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई सही दिशामा अघि बढ्न सचेत गराउनु आफ्नो जिम्मेवारी भएको बताएका छन्। उनले पार्टीभित्र कुनै पनि प्रकारको बेथिति, अराजकता र आर्थिक शक्तिको प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नरहेको बताए। सरकारलाई नागरिकको सेवामा स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई मर्यादित र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन आग्रह गरे।

उनले पार्टी र सरकार दुवैको प्राथमिकता नागरिकको सेवा र सुशासन हुनुपर्नेमा जोड दिए। न्यायालय, प्रहरी तथा प्रशासनजस्ता राज्यका संस्थामाथि सार्वजनिक स्थानमा बसेर प्रमाणविनाका टिप्पणी गर्दा ती निकायको मनोबल कमजोर हुने उनको भनाइ थियो। संस्थाभित्रका कमजोरी र बेथिति भए विधिसम्मत प्रक्रियाबाट सुधार गर्नुपर्ने उनले बताए।

पार्टीभित्र आर्थिक स्रोत र धनशक्तिको प्रभाव बढ्दै गएकोप्रति पनि लामिछानेले चिन्ता व्यक्त गरे। कुनै व्यक्ति वा समूहको स्वार्थअनुसार पार्टी सञ्चालन गर्ने प्रवृत्तिले संगठनमाथि सीमित व्यक्तिको नियन्त्रण कायम हुन सक्ने भन्दै उनले कार्यकर्तालाई सचेत रहन आग्रह गरे।

सामाजिक सञ्जालमा फरक विचार राख्ने व्यक्तिमाथि अश्लील, अपमानजनक र अमर्यादित भाषा प्रयोग गर्ने प्रवृत्तिको समेत उनले आलोचना गरे। राजनीतिक असहमतिलाई सभ्य र मर्यादित ढङ्गले प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले चुनावका बेला जनतासामु भ्रष्टाचार र बेथिति अन्त्य गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै त्यसको अर्थ कानुनविपरीत कसैलाई पक्राउ गर्नु नभएको स्पष्ट पारे।

उनले भने, ‘हामी विधिको शासन, कानुनी राज्य र निष्पक्ष अनुसन्धानमार्फत सुशासन कायम गर्न आएका हौँ। जनतामा आशा र भ्रष्टाचारीमा त्रास सिर्जना हुनुपर्छ, तर नागरिकमा त्रास फैलिनु हुँदैन।’

सरकारका निर्णयमाथि प्रश्न उठाउन सकिने भए पनि त्यसलाई अनावश्यक विवाद वा पार्टीभित्रको द्वन्द्वका रूपमा व्याख्या गर्नु उचित नहुने उनले बताए। लोकतन्त्रका मूल्य, मान्यता र संस्थागत मर्यादालाई कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने उनको भनाइ थियो।

पार्टी आर्थिक शक्तिको प्रभावमा नभई विचार, सिद्धान्त र विधिका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले फरक मत राख्ने व्यक्तिको लोकतान्त्रिक अधिकार र सामाजिक प्रतिष्ठाको सम्मान गर्न कार्यकर्तालाई आग्रह गरे।

‘अश्लीलता, अपमान र गालीगलौजले व्यक्ति मात्र होइन, सिङ्गो पार्टी र लाखौँ मतदाताको प्रतिष्ठामा आँच पुर्‍याउँछ,’ उनले भने।

लामिछानेले जनताले दिएको जनमतलाई इतिहास बदल्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै पार्टीले लोकतान्त्रिक सीमारेखा नाघ्न नहुने बताए। कुनै निर्णय वा काममा विचलन देखिए त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

आफूले बोलेका अभिव्यक्तिप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उनले अरूले त्यसलाई कसरी बुझ्छन् वा व्याख्या गर्छन् भन्ने विषयमा भने आफू जिम्मेवार नहुने बताए।

चितवनबाट सुरु भएको ‘नीलो क्रान्ति’ले देशभर परिवर्तनको सन्देश फैलाउने विश्वास व्यक्त गर्दै लामिछानेले कार्यकर्तालाई अनुशासित भएर पार्टीको अभियानमा लाग्न आह्वान गरे।

उनले रास्वपाले आगामी दिनमा देशव्यापी रूपमा नीलो क्रान्तिलाई विस्तार गर्ने दाबीसमेत गरे।