काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिश्री


काठमाडौं ।

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारीलाई केन्द्रमा राखेर उनी नेपाल आएका हुन्।

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीले बुधबार नै आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा प्रधानमन्त्री शाहको मंसिर ६ देखि ८ गतेसम्म तय भएको भारत भ्रमणको तयारी तथा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ।

काठमाडौं बसाइका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

त्यस्तै, उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग पनि भेटवार्ता गर्ने तयारी छ।

विदेशसचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ।