स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुन लागेको आठौँ कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिताका लागि चापाकोट नगरपालिकाले ७ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
द राईजिङ ग्रुपको आयोजनामा कात्तिक १३ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितालाई सफल बनाउन नगरपालिकाले उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । नगरप्रमुख देवबहादुर खाँण ‘ईश्वर’ले प्रतियोगिताका लागि ७ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
आठौँ कालीगण्डकी गोल्डकपमा स्याङ्जा, कास्की, गोरखा, पर्वत, पाल्पा र रुपन्देहीका आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । विभिन्न जिल्लाका टोली सहभागी हुने प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लाबीच खेलकुदसम्बन्धी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विजेता टोलीले नगद ३ लाख र उपविजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने द राईजिङ ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिएका थिए । लामो समयदेखि रोकिएको प्रतियोगिता पुन: सञ्चालन हुन लागेकाले यसले चापाकोट क्षेत्रमा फुटबल खेलको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया