जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट र प्रहरीसँग झडप


काठमाडौं ।

जर्मनीका विभिन्न शहरमा महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएका प्रदर्शन हिंसात्मक बनेका छन्।

शनिबार फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए।

प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो भने केही प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनमा गरी करिब १८ हजार मानिस प्रदर्शनमा सहभागी भएको अधिकारीहरूले बताएका छन्।

‘जेनजी रेगेल्ट’ अभियानको नेतृत्वमा भएको प्रदर्शनमा विद्यालयको बजेट वृद्धि, जीवनयापनको बढ्दो लागत नियन्त्रण, सरकारी खर्च कटौतीको विरोध र अनिवार्य सैन्य सेवा खारेजीको माग गरिएको थियो।

दिनभरका प्रदर्शन शान्तिपूर्ण रहे पनि रात पर्दै जाँदा हिंसात्मक बनेका थिए।