विवादित न्यायाधीशबारे छलफल गर्न कानुन समितिको बैठक बस्दै


काठमाडौं ।

सर्वोच्च अदालतका विवादित न्यायाधीशबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान गरिएको छ ।

समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।

समिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंका अनुसार बैठकमा सर्वोच्च अदालतका न्यायाधीश र विवादास्पद बिचौलिया इनम सापकोटाबीचको सम्बन्ध तथा सार्वजनिक भएका संवाद र कारोबारका विवरणबारे छलफल हुनेछ ।

उनले सार्वजनिक भएका विषयमाथि विस्तृत अध्ययन गरेपछि मात्रै थप प्रक्रिया अघि बढाइने बताए । तत्काल महाअभियोग सिफारिस समिति गठन गर्ने पक्षमा आफूहरू नरहेको उनको भनाइ छ ।

सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीश र प्रहरीका उच्च अधिकारीसँगको संवाद तथा कारोबारका विवरण सार्वजनिक भएपछि न्यायालयको भूमिकामाथि प्रश्न उठेको छ । यस विषयमा सात जना न्यायाधीशले सामूहिक भेट गरेको विवरणसमेत सार्वजनिक भएको छ ।

सांसद चौलागाईंले अनुसन्धानको घेरामा रहेको विषय कसरी सार्वजनिक भयो भन्नेबारे पनि गम्भीर रूपमा अध्ययन हुनुपर्ने बताएका छन् ।