काठमाडौं ।
नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको रेमिटेन्सको ठूलो हिस्सा भित्रिने मध्यपूर्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा हुने ‘सहयात्रा–२०२६’ सम्मेलनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रम अधिकार, सामाजिक सुरक्षा, लगानी प्रवर्द्धन र स्वदेश फर्किएपछिको भविष्यलाई केन्द्रमा राखेर सम्मेलन आयोजना गर्न लागिएको हो। मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको अध्यक्षतामा अक्टोबर १० मा सम्पन्न चौथो क्षेत्रीय बैठकले सम्मेलन व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न १० वटा समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।
एनआरएनएले अक्टोबर १३ मा सार्वजनिक गरेको विवरणअनुसार व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार, यातायात, भिसा तथा दर्ता, स्वयंसेवक परिचालन, सञ्चार, सांस्कृतिक कार्यक्रम र घोषणापत्र तयारीलगायतका विषयमा छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ। सम्मेलनको मूल आयोजक समितिको संयोजकमा क्षेत्रीय संयोजक श्रेष्ठ रहेका छन्। समितिमा मध्यपूर्वका डीआरसी विकास शाही, पूर्णबहादुर पोखरिया, विकल झा, करिमबक्स मियाँ, बासुदेव सापकोटा, विष्णुलाल श्रेष्ठ, तेज कँटुवाल, सुरज मास्के र दीपक खड्कालगायत सदस्य छन्।
विभिन्न राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, महासचिव तथा पूर्वअध्यक्षहरूलाई समेत समितिमा समेटिएको छ। सम्मेलनलाई नीतिगत मार्गदर्शन र परामर्श उपलब्ध गराउन आईसीसी अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। समितिमा पूर्वअध्यक्ष आरके शर्मा, उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, प्रवीण गुरुङ, डा. चिरञ्जीवी खड्का, राजेन्द्र अर्याल, मोहम्मद मुक्तदा मुसलमान, रमेश भट्ट, भवानीप्रसाद तिमल्सिना, पदम गिरी, विमल सुवेदी, क्रान्ति सिंह, पूर्वउपाध्यक्ष डीबी क्षेत्री, सागर नेपाल, नरेन्द्र भाट, राज रेग्मी, डा. देवकाजी डंगोल र यास्मिन बेगम सैयदलगायत रहेका छन्।
त्यसैगरी व्यवस्थापकीय तथा नोट टिपोट समितिको संयोजकमा तेज कँटुवाल र सहसंयोजकमा कतार एनसीसी अध्यक्ष कृष्ण पन्थी रहेका छन्। अतिथि व्यवस्थापन तथा यातायात समितिको संयोजकमा पूर्ण पोखरिया, प्रायोजक व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ र आर्थिक व्यवस्थापन समितिको संयोजकमा विकास शाही रहेका छन्। भिसा, दर्ता तथा शुल्क व्यवस्थापन समितिको संयोजकमा कतार एनसीसीका महासचिव शिव भुजेल, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा आईसीसी मध्यपूर्व युवा संयोजक सुजन सापकोटा र उपसंयोजकमा कतार एनसीसीका युवा उपाध्यक्ष टंक विश्वकर्मा रहेका छन्।
यसैगरी सत्र व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ, मिडिया व्यवस्थापन समितिको संयोजकमा करिमबक्स मियाँ र सांस्कृतिक व्यवस्थापन समितिको संयोजकमा रोजेश अर्याल रहेका छन्। सांस्कृतिक समितिको उपसंयोजकमा कमलजंग कार्की छन्। घोषणापत्र तयारी समितिमा पूर्वअध्यक्ष तथा पूर्वउपाध्यक्षसहित अनुभवी अभियन्ताहरूलाई समेटिएको छ। सम्मेलनमा कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कुवेत, ओमान, बहराइन र इराकलगायतका देशमा कार्यरत नेपालीका साझा सवाललाई प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ। मध्यपूर्वमा लाखौँ नेपाली श्रमिक कार्यरत छन्। उनीहरूले पठाउने रेमिटेन्सले नेपालको अर्थतन्त्र, विदेशी मुद्रा सञ्चिति र लाखौँ परिवारको जीवनयापनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
तर, मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने श्रमिकहरू स्वयं भने असुरक्षित रोजगारी, न्यून पारिश्रमिक, श्रम शोषण, सामाजिक सुरक्षाको अभाव र स्वदेश फर्किएपछिको आर्थिक अनिश्चितताजस्ता समस्याबाट मुक्त हुन सकेका छैनन्। यही अवस्थालाई ध्यानमा राख्दै सम्मेलनमा सुरक्षित श्रम आप्रवासन, श्रमिकको हकहित, सामाजिक सुरक्षा, युवा तथा महिला सहभागिता, नेतृत्व विकास, लगानी प्रवर्द्धन र उद्यमशीलतालाई प्रमुख प्राथमिकतामा राखिने क्षेत्रीय संयोजक श्रेष्ठले बताएका छन्।
श्रेष्ठका अनुसार सम्मेलनलाई औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका समस्या, सम्भावना र भविष्यसँग जोड्ने उद्देश्यसहित तयारी भइरहेको छ। विदेशमा श्रम गरेर आर्जन गरेको सीप, अनुभव र पुँजीलाई नेपालको उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग जोड्न आवश्यक रहेको उनको भनाइ छ। उनले सम्मेलन सफल बनाउन विश्वभर रहेका एनआरएनए अभियन्ता, राष्ट्रिय समन्वय परिषद्, आईसीसीका पदाधिकारी, नेपाली संघसंस्था तथा सरोकारवालालाई सहभागिता, सहयोग र सहकार्यका लागि आग्रह गरेका छन्। मध्यपूर्वबाट भित्रिने रेमिटेन्सलाई नेपालको आर्थिक समृद्धिसँग जोड्ने बहस पछिल्लो समय महत्त्वपूर्ण बन्दै गएको छ। विदेशमा काम गरेर फर्किएका नेपालीको सीप र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके मुलुकभित्रै रोजगारी सिर्जना र उद्यम विकासमा सहयोग पुग्न सक्छ।











प्रतिक्रिया