तीन महिनामै व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्यो


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३÷८४ को असोजमा वस्तु आयात उल्लेख्य रूपमा बढेको छ । चीनसँगका दुई नाका बन्द हुनुका साथै बाढीपहिरोले प्रमुख राजमार्गको आवागमन प्रभावित पारे पनि असोजमा २ खर्ब ४५ अर्ब २७ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ । यससँगै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल आयात ६ खर्ब ४६ अर्ब ७८ करोड रुपियाँ पुगेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड रुपियाँ बराबरको वस्तु आयात भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ३८.१८ प्रतिशतले बढेको हो ।

मासिक विवरणअनुसार साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड र भदौमा २ खर्ब १४ अर्ब ७ करोड रुपियाँको वस्तु आयात भएको थियो । असोजमा यो रकम बढेर २ खर्ब ४५ अर्ब २७ करोड रुपियाँ पुगेको हो । तीन महिनाको कुल आयातमा असोजको हिस्सा करिब ३८ प्रतिशत रहेको छ । चाडपर्वमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, सवारीसाधन तथा अन्य उपभोग्य वस्तुको माग बढ्ने भएकाले आयातमा चाप पर्ने गर्छ । यस वर्ष पनि असोजमा आयात बढेको देखिए पनि त्यसमा चाडपर्वको मागको योगदान कति रह्यो भन्ने छुट्टै विवरण सार्वजनिक भएको छैन ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात भएका वस्तुमध्ये कच्चा भटमास तेलको मूल्य सबैभन्दा बढी रहेको छ । यस अवधिमा ५० अर्ब रुपियाँभन्दा बढीको कच्चा भटमास तेल आयात भएको छ । यस्तो तेल अर्जेन्टिना, चीन र ब्राजिलबाट ल्याइएको हो ।

पेट्रोलियम पदार्थको आयातमा पनि ठूलो रकम बाहिरिएको छ । तीन महिनामा ४७ अर्ब ३१ करोड रुपियाँ बराबरको २ लाख ८८ हजार किलोलिटर डिजेल आयात भएको छ । त्यस्तै, २४ अर्ब ६२ करोड रुपियाँ बराबरको १ लाख ८१ हजार किलोलिटर पेट्रोल भित्रिएको छ ।
यसै अवधिमा २३ अर्ब १८ करोड रुपियाँ बराबरको १७ करोड १९ लाख ८४ हजार किलोग्राम एलपी ग्यास आयात भएको तथ्यांक छ । कच्चा भटमास तेल र पेट्रोलियम पदार्थको आयातमा भएको ठूलो खर्चले नेपालको आयात संरचनामा यी वस्तुको महत्वपूर्ण हिस्सा रहेको देखाउँछ ।
आयातसँगै नेपालको निर्यात व्यापारमा पनि उल्लेख्य सुधार देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब १४ अर्ब २८ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७२ अर्ब ७८ करोड रुपियाँमा सीमित थियो । एक वर्षको अवधिमा निर्यात ५७.०३ प्रतिशतले बढेको छ । तीन महिनाको कुल निर्यातमध्ये असोजमा मात्रै करिब ३८ अर्ब रुपियाँ बराबरको वस्तु बाहिरिएको छ । निर्यातको वृद्धिदर आयातको भन्दा उच्च रहे पनि कुल आयातको आकार ठूलो भएकाले व्यापार घाटा भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपियाँ थियो । यसअनुसार व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपियाँ थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत र निर्यातको हिस्सा १५.०२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यातको हिस्सा १३.४६ प्रतिशत थियो । यस वर्ष निर्यातको हिस्सा बढेको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा निर्यातको योगदान केही विस्तार भएको देखाउँछ ।

त्यस्तै, आयात र निर्यातको अनुपात पनि गत वर्षको ६.४३ गुणाबाट घटेर ५.६६ गुणामा झरेको छ । अर्थात्, गत वर्ष निर्यातको तुलनामा ६.४३ गुणा रहेको आयात यस वर्ष ५.६६ गुणामा सीमित भएको छ ।

निर्यातको वृद्धिदर र कुल व्यापारमा यसको हिस्सा बढ्नु सकारात्मक संकेत भए पनि आयातमा भएको तीव्र वृद्धि र व्यापार घाटाको विस्तारले नेपालको वैदेशिक व्यापारमा विद्यमान असन्तुलन अझै कायम रहेको देखाउँछ । निर्यातको दिगो विस्तार र स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन सके मात्रै व्यापार घाटा कम गर्ने आधार बलियो बन्नेछ ।