लन्डन, (एजेन्सी)
फ्रान्सका स्टार केलियन एमबाप्पे र विश्वकप विजेता स्पेनिस युवा प्रतिभा लामिन यमाललाई पछि पार्दै इङ्ल्यान्ड तथा बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले वर्ष २०२५–२६ को प्रतिष्ठित ‘पुरुष बलोन डी ओर’ उपाधि आफ्नो नाममा लेखाउन सफल भएका छन् ।
३३ वर्षको उमेरमा केनले आफ्नो व्यावसायिक खेल जीवनमै पहिलो पटक यो सर्वोच्च व्यक्तिगत अवार्ड हात पारेका हुन् । लन्डनस्थित ऐतिहासिक प्यालाडियममा आयोजित भव्य समारोहमा यो अवार्ड चुम्दै केनले इङ्ल्यान्ड र बायर्न म्युनिख दुवैका लागि दशकौँ लामो व्यक्तिगत उपाधिको खडेरीसमेत समाप्त पारेका छन् ।
सन् २००१ मा माइकल ओवेनले जितेयता यो प्रतिष्ठित उपाधि हात पार्ने केन पहिलो अंग्रेज खेलाडी बनेका हुन् । यस्तै, बायर्न म्युनिखका लागि सन् १९८१ मा कार्ल–हेन्ज रुमेनिगेले जितेपछि यो सफलता प्राप्त गर्ने उनी पहिलो खेलाडी बनेका हुन् ।
यसै समारोहमा उनले उत्कृष्ट प्रदर्शनको कदरस्वरूप वर्षको उत्कृष्ट स्ट्राइकरको अवार्डसमेत चुम्दै आफ्नो उत्कृष्ट फर्मको दरिलो प्रमाण प्रस्तुत गरेका छन् ।
केनका लागि यो सिजन अविश्वसनीय र कीर्तिमानी रह्यो जसमा उनले क्लब र देशका लागि गरी जम्मा ६५ खेलमा ७३ गोलको आश्चर्यजनक आँकडा पार गरे । यो शताब्दीमा एकै सिजनमा उनीभन्दा धेरै गोल गर्ने एकमात्र खेलाडी लियोनल मेसी हुन्, जसले सन् २०११–१२ को सिजनमा ८२ गोल गरेका थिए ।
केनले बायर्नलाई एकल प्रयासजस्तै गरेर जर्मन बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपर कप जिताउँदै घरेलु फुटबलमा पूर्ण वर्चस्व दिलाए । उनले बुन्डेसलिगामा मात्रै ३१ खेलमा ३६ गोल गरे भने कपको फाइनलमा स्टुटगार्टविरुद्ध उत्कृष्ट ह्याट्रिक प्रहार गरेका थिए ।
युरोपियन च्याम्पियन्स लिगमा समेत १४ गोल गरेका उनी बुन्डेसलिगाको इतिहासमा सबैभन्दा छिटो अर्थात् मात्र ९८ खेलमा १०० गोल पूरा गर्ने अद्वितीय खेलाडी बनेका छन् । त्यसैगरी, अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजित विश्वकपमा पनि कप्तान केनको जादु पूर्ण रूपमा चल्न पुग्यो, जहाँ उनले ६ गोल गर्दै इङ्ल्यान्डलाई प्रतियोगिताको तेस्रो स्थानसम्म पु¥याउन निर्णायक र अतुलनीय भूमिका खेलेका थिए ।
अवार्ड ग्रहण गर्ने क्रममा ३३ वर्षीय केन निकै भावुक सुनिए र उनले आफ्नो यो सफलतालाई आफ्ना सहकर्मी तथा परिवारप्रति समर्पित गरे। गत साता मात्र प्रशिक्षण मैदानमा अचानक बेहोस भएर अस्पताल भर्ना भएका उनका क्लबका प्रशिक्षक भिन्सेन्ट कोम्पनीलाई सम्झँदै उनले भने,“मलाई थाहा छ भिन्नी अहिले अस्पतालमै हुनुहुन्छ, तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र आशा छ यो सफलताले तपाईँलाई केही ऊर्जा दिनेछ ।”
त्यसपछि आफ्नी जीवनसंगिनी केटलाई सम्झँदै उनले थपे, “मेरी श्रीमती र मेरो सबैभन्दा मिल्ने साथी केट, तपाईँ मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । हामीले अन्ततः गरेर देखायौँ । तपाईँको असीम त्यागबिना यो कहिल्यै सम्भव थिएन ।”
अवार्ड जितेपछि सामाजिक सञ्जालमा उनले व्यक्त गरेको “शान्त रहेर कडा मिहिनेत गर, सफलतालाई नै आफ्नो आवाज बन्न देउ” विचारले उनको सादगी र अटुट लगनशीलता झल्काउँछ ।
पुरुषतर्फ बालोन डी’ओरका शीर्ष ५ खेलाडी
१. ह्यारी केन (इंग्ल्यान्ड, बायर्न म्युनिख)
२. किलियन एम्बाप्पे (फ्रान्स, रियल मेड्रिड)
३. लामिन यामाल (स्पेन, बार्सिलोना)
४. रोड्री (स्पेन, म्यानचेस्टर सिटी÷बार्सिलोना)
५. लियोनेल मेस्सी (अर्जेन्टिना, इन्टर मायामी)
पुरुषतर्फ वर्ष उत्कृष्ट
बालोन डी’ओरः ह्यारी केन (इंग्ल्यान्ड, बायर्न म्युनिख)
युवा खेलाडीः लामिन यामाल (स्पेन, बार्सिलोना)
गोलकिपरः उनाइ सिमोन (स्पेन, एथलेटिक क्लब)
प्रशिक्षक ः लुइस डे ला फुएन्ते (स्पेनको राष्ट्रिय टोली)
क्लबः पेरिस सेन्ट जर्मेन (फ्रान्स)
स्ट्राइकरः ह्यारी केन (इंग्ल्यान्ड, बायर्न म्युनिख)
महिलातर्फ वर्ष उत्कृष्ट
बालोन डी’ओरः एलेक्सिया पुटेलास (स्पेन, बार्सिलोना÷लन्डन सिटी लायनेसिस)
युवा खेलाडीः भिकी लोपेज (स्पेन, बार्सिलोना)
गोलकिपरः काटा कोल (स्पेन, बार्सिलोना)
प्रशिक्षकः पेरे रोमिउ (स्पेन, बार्सिलोना)
क्लबः बार्सिलोना (स्पेन)
स्ट्राइकरः चार्लिन कोरल (मेक्सिको, पाचुका)











प्रतिक्रिया