यू–१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले १५ खेल आयोजना गर्ने


काठमाडौं।

नेपाल र बंगलादेशको संयुक्त आयोजनामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२७ को खेल तालिका सार्वजनिक भएको छ। जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने प्रतियोगितामा १६ टोलीले ४१ खेल खेल्नेछन्।

नेपालमा १५ र बंगलादेशमा २६ खेल आयोजना हुनेछन्। नेपालमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६ तथा माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९ खेल सञ्चालन हुनेछन्।

सहआयोजक नेपाल समूह ‘ए’ मा भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँगै रहेको छ। नेपालले जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका तीनवटै खेल कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछन्।

प्रतियोगितामा चार समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट छनोट भएका टोलीले फेब्रुअरी ४ मा सेमिफाइनल खेल्नेछन् भने फाइनल फेब्रुअरी ६ मा बंगलादेशको चट्टोग्राममा हुनेछ।

नेपाल र बंगलादेशले आयोजकका रूपमा प्रतियोगितामा सिधै स्थान बनाएका हुन्। अन्य टोलीमध्ये नौ टोलीले अघिल्लो संस्करणको प्रदर्शनका आधारमा र पाँच टोलीले क्षेत्रीय छनोट पार गर्दै विश्वकपमा स्थान सुरक्षित गरेका छन्।