काठमाडौँ ।
यस वर्ष तिथि वृद्धि भई अष्टमी दुई दिन परेकाले कात्तिक १ र २ गते दुवै दिन महाअष्टमीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिबाट स्वीकृत पात्रोअनुसार दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको पूजा तथा महाअष्टमीका अन्य कर्म कात्तिक २ गते पनि दोहोर्याउनुपर्नेछ।
कात्तिक २ गते नवौँ दिन भए पनि महागौरीको पूजा र अष्टमीका अन्य कर्म गर्नुपर्नेछ। कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिले जनाएको छ।
अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बनेको छ भने विजयादशमीमा १० रात्रिका जमरा लगाइनेछ।
हनुमानढोका दरबारको दसैँघरमा आइतबार सामान्य पूजा गरिएको र मूल पूजा सोमबार गरिने जनाइएको छ। महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा गर्ने परम्परा पनि रहेको छ।











प्रतिक्रिया