काठमाडौं ।
बंगलादेशको काठमाडौंस्थित दूतावासले बंगाली भाषाका महान् रहस्यवादी दार्शनिक, मानवतावादी तथा बाउल गायक फकिर लालन शाहको स्मृति दिवस मनाएको छ।
कार्यक्रममा लालन शाहले बंगाली संस्कृति, साहित्य र मानवतावादी दर्शनमा पुर्याएको योगदानको स्मरण गर्दै मानवता, समानता र सामाजिक सद्भावका सार्वभौमिक मूल्यहरूको चर्चा गरिएको थियो।
कार्यक्रममा काठमाडौंमा रहेका बंगलादेशी समुदायका सदस्य, नेपाली साहित्यिक क्षेत्रका व्यक्तित्व, युवा नेतृत्व, नागरिक समाजका प्रतिनिधि तथा ढाकास्थित नेपाली कूटनीतिक नियोगमा कार्य गरिसकेका पूर्वकूटनीतिज्ञहरूको सहभागिता थियो।

कार्यक्रमको समापन मन्तव्य दिँदै नेपालका लागि बंगलादेशका राजदूत रहमानले लालन शाहको दर्शनलाई बंगाली संस्कृति र पहिचानको आधारस्तम्भका रूपमा व्याख्या गरे। उनले लालनका गीतले आफ्नो समयका भौगोलिक तथा धार्मिक सीमाहरू पार गर्दै सामाजिक र सांस्कृतिक पूर्वाग्रहलाई चुनौती दिएको उल्लेख गरे।
लालन शाहका चर्चित गीतहरूको सन्दर्भ दिँदै राजदूत रहमानले धर्म, जात र सामाजिक पहिचानभन्दा माथि उठेर साझा मानवतालाई पहिचान गर्नुपर्नेमा जोड दिए। उनका अनुसार लालनका शिक्षाले समावेशी, शान्तिपूर्ण र समृद्ध बंगलादेश निर्माणको यात्रामा अझै प्रेरणा प्रदान गरिरहेका छन्।
बाउल संगीत परम्परा तथा गैरपरम्परागत रहस्यवादी र आध्यात्मिक सम्प्रदायहरूको इतिहास र संस्कृतिबारे चर्चा गर्दै राजदूतले बाउल संस्कृति बंगाली समाज र संस्कृतिको अभिन्न अंग रहेको बताए। लालन शाहका गीतको विश्वव्यापी आकर्षण र मानवीय सन्देशले यस परम्परालाई अन्तर्राष्ट्रिय सांस्कृतिक महत्त्व प्रदान गरेको पनि उनले उल्लेख गरे।
नेपाल र बंगलादेशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे बोल्दै राजदूत रहमानले दुवै देशले आफ्नो समृद्ध सांस्कृतिक सम्पदा र सद्भावपूर्ण सहअस्तित्वको परम्पराबाट शक्ति प्राप्त गरेको बताए। सांस्कृतिक आदानप्रदानले पारस्परिक समझदारी बढाउने, विविधताप्रति सम्मान अभिवृद्धि गर्ने तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उनको भनाइ थियो।
कार्यक्रममा बंगलादेशी कलाकारहरूले लालन शाहका गीत प्रस्तुत गर्नुका साथै उनका कविता वाचन गरेका थिए। प्रस्तुतिले सहभागीलाई बंगलादेशको विशिष्ट आध्यात्मिक तथा सांस्कृतिक सम्पदासँग परिचित हुने अवसर प्रदान गरेको थियो।

यसैगरी, लालन शाहको जीवन, दर्शन तथा बंगाली समाज, संस्कृति र साहित्यमा उनले पुर्याएको योगदान समेटिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सहभागी अतिथिलाई बंगलादेशी परिकारसहितको दिवाभोज प्रदान गरिएको दूतावासले जनाएको छ।











प्रतिक्रिया