नेपालको घाउमा मलम लगाउने प्रविधि सम्राट जेन्सेन ह्वाङ

0
Shares

परिवर्तनको तीव्र वेगमा दौडिरहेको आधुनिक संसारमा एउटा यस्तो नाम पनि छ जसले मानव सभ्यताको भविष्यलाई पुनर्भाषित गरिरहेको छ । त्यो हो जेन्सेन ह्वाङ । आज कृत्रिम बौद्धिकता (एआई) को वैश्विक क्रान्ति पछाडिको मुख्य इन्जिन मानिने एनभिडियाका यी सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकृतको सफलता केवल प्रविधिको जित मात्र होइन, असीम पीडा, अपमान, अडिग साहस र कहिल्यै नझुक्ने अठोटको एउटा ग्रन्थ पनि हो । ताइवानको एउटा सानो सहरबाट सुरु भएको उनको यात्राले आज विश्व अर्थतन्त्रलाई ढोग्न बाध्य पारेको छ । तर, यो भव्य शिखरको जगमा भने आँसु, रगत र कडा परिश्रमको कठोर इतिहास लुकेको छ ।

१७ फेब्रुअरी १९६३ मा ताइवानको ताइनानमा जन्मिएका जेन्सेन ह्वाङको बाल्यकाल सामान्य र सुरक्षित रहन सकेन । सुरुमा थाइल्यान्ड बसाइँ सरेको उनको परिवार त्यहाँको राजनीतिक अशान्ति र हिंसाका कारण तीव्र तनावमा प¥यो । आफ्ना सन्तानको भविष्य जोगाउन र उनीहरूलाई सुरक्षित वातावरण दिन आमाबाबुले ठूलो मुटु पारेर नौ वर्षका जेन्सेन र उनका दाजुलाई सुदूर अमेरिका पठाउने कठिन निर्णय गरे । वासिङ्टनको टाकोमामा रहेका काकाको जिम्मामा अमेरिका पुगेका ती साना बालकहरूले उनीहरूको जीवन कति दर्दनाक मोडमा पुग्दैछ भन्ने कल्पनासम्म गरेका थिएनन् । काकाले अन्जानमै उनीहरूलाई एउटा प्रतिष्ठित आवासीय विद्यालय सम्झेर केन्टकीस्थित ‘ओनेइडा बाप्टिस्ट इन्स्टिच्युट’ मा भर्ना गरिदिए । वास्तवमा त्यो कुनै सामान्य विद्यालय थिएन । समस्याग्रस्त, विद्रोही र कठोर आपराधिक पृष्ठभूमि भएका किशोरहरूलाई सुधार गर्ने एउटा कठोर धार्मिक सुधार गृह थियो ।

त्यस सुधार गृहको चिसो र निर्दयी वातावरणमा नौ वर्षका जेन्सेनले जीवनको सबैभन्दा क्रूर यथार्थको सामना गरे । भाषा नबुझ्ने, अनुहार र छालाको रङ फरक भएकै कारण उनले निरन्तर जातीय भेदभाव, हेपाहा व्यवहार र शारीरिक तथा मानसिक उत्पीडन (बुलिङ) सहनुप¥यो । आफूभन्दा धेरै उमेरका र हिंस्रक स्वभावका केटाहरूको माझमा साना जेन्सेनले हरेक दिन आफ्नो अस्तित्व रक्षाका लागि लड्नुपथ्र्यो । त्यहाँ उनलाई सजाय र कामको रूपमा शौचालय सफा गर्ने, छात्रावासका कोठाहरू बढार्ने र फोहोर उठाउने जिम्मा दिइएको थियो । तर, त्यो चरम अत्याचार र अपमानले उनलाई तोड्न सकेन । त्यही शौचालयको दुर्गन्ध र सहपाठीहरूको कुटाइले उनको भित्री चेतनालाई फलाम झैँ मजबुत बनाइदियो । उनले कठिनाइसँग डराउन छाडे र परिस्थितिलाई नै आफ्नो ढाल बनाए । केही वर्षपछि परिवार ओरेगनमा पुनः एकत्र भयो । जहाँ उमेर बढ्दै जाँदा उनले स्थानीय डेनिज रेस्टुरेन्टमा भाँडा माझ्ने, टेबल पुछ्ने र वेटरको काम गरे । भाँडाको जुठो सफा गर्दागर्दै उनले मानिसहरूको व्यवहार बुझ्ने र अत्यधिक दबाबमा पनि मुस्कुराएर काम गर्ने कला सिके ।

विपत्तिका यी अनगिन्ती श्रृंखलाहरूका बीच पनि जेन्सेनले आफ्नो अध्ययनलाई कहिल्यै कमजोर हुन दिएनन् । इलेक्ट्रिकल इन्जिनियरिङतर्फको उनको तीव्र झुकावले उनलाई सन् १९८४ मा ओरेगन स्टेट युनिभर्सिटीबाट स्नातक तह पूरा गरायो । जहाँ उनले आफ्नो जीवनसङ्गिनी लोरीलाई समेत भेटे । पछि सन् १९९२ मा उनले विश्वप्रसिद्ध स्ट्यानफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तरको उपाधि हासिल गरे । एएमडी र एलएसआई लजिक जस्ता ठूला प्रविधि कम्पनीहरूमा काम गरेर व्यावहारिक र व्यवस्थापकीय अनुभव सँगालेपछि पनि उनको मनमा केही असाधारण र क्रान्तिकारी सिर्जना गर्ने ज्वाला दन्किरहेको थियो ।

सन् १९९३ को एक बिहान, ३० वर्षको उमेरमा जेन्सेन ह्वाङले आफ्ना दुई साथीहरू क्रिस मालाचोवस्की र कर्टिस प्रिमसँग मिलेर त्यही डेनिज रेस्टुरेन्टको एउटा साधारण कुनामा कफी पिउँदै एनभिडियाको बीजारोपण गरे । जम्मा ४० हजार अमेरिकी डलरको साघुँरो पुँजीबाट सुरु भएको यो यात्राको प्रारम्भिक गोरेटो नै विनाशको डिलमा उभिएको थियो । त्रि–आयामिक (थ्रीडी) भिडियो गेमका लागि ग्राफिक्स चिप्स बनाउने उनीहरूको पहिलो प्रयास प्राविधिक मापदण्ड परिवर्तनका कारण पूर्ण रूपमा असफल भयो । कम्पनी टाट पल्टिने अवस्थामा पुग्यो र कर्मचारीहरूलाई तलब दिनेसम्मको बजेट बाँकी रहेन । तर, ह्वाङले हार मानेनन् । उनले आफ्ना इन्जिनियरहरूलाई ओपनजीएलका मोटा–मोटा पाठ्यपुस्तकहरू किनेर दिए र रातारात प्रविधिलाई नयाँ दिशामा मोडे । ग्राहकहरूसँग व्यक्तिगत विश्वासका आधारमा रकम जोहो गर्दै उनले एनभिडियालाई मृत्युको मुखबाट फिर्ता ल्याए ।

सन् १९९९ मा एनभिडियाले ‘ग्राफिक्स प्रोसेसिङ युनिट’ (जीपीयू) को आविष्कार गरेर कम्प्युटर जगत्मा पहिलो ऐतिहासिक भूकम्प ल्यायो । जसले रियल–टाइम थ्रीडी ग्राफिक्सलाई नयाँ उचाइमा पु¥यायो । तर, जेन्सेनको दूरदृष्टि यतिमा मात्र सीमित थिएन । सन् २००६ मा उनले ‘कुडा’ (सीयूडीए) नामक प्रोग्रामिङ मोडलको विकासका लागि अरबौँ डलर लगानी गर्ने जोखिम मोले । लगानीकर्ता र विश्लेषकहरूले यस कदमलाई वित्तीय आत्महत्या भनेर आलोचना गरे, किनभने त्यसबेला जीपीयूमार्फत जटिल गणना गर्ने कुनै ठूलो बजार नै थिएन । तर, ह्वाङको त्यो अभूतपूर्व र हठी दूरदर्शिता नै आजको एआई क्रान्तिको जग बन्यो । दशकौँपछि जब विश्वमा डिप लर्निङ र जेनेरेटिभ एआईको लहर आयो, तब एनभिडियाका तिनै चिप्स र कुडा प्रविधि विश्वका सबैभन्दा शक्तिशाली एआई मोडलहरू सञ्चालन गर्ने एक मात्र विकल्पका रूपमा उदाए । आज एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् र प्रभावशाली महासाम्राज्य बनेको छ ।

व्यावसायिक सफलताको विशाल शिखरमा पुगेर पनि जेन्सेन ह्वाङको हृदयभित्रको विनम्रता र कारुणिक भाव कहिल्यै हराएन । आफूले बाल्यकालमा भोगेको गरिबी, अभाव र पीडालाई सम्झँदै उनले शिक्षा र परोपकारका क्षेत्रमा अर्बौँ डलर दान गरेका छन् । स्ट्यानफोर्ड र ओरेगन स्टेट युनिभर्सिटीलाई ठूलो आर्थिक सहयोग गर्दै आएका ह्वाङको परोपकारी हात नेपालसम्म पनि फैलियो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसले सिर्जित भीषण संकटका बेला एनभिडिया कर्पोरेसनको माध्यमबाट उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड अमेरिकी डलर (करिब डेढ अर्ब नेपाली रुपैयाँ) को विशाल सहयोग हस्तान्तरण भयो । संकटको कालो बादलमा एनभिडिया र ह्वाङको यो असीम उदारता नेपाली जनताका लागि मलम बनेको छ ।

भाँडा माझेर जीवनको ढोका उघारेका, सुधार गृहको चिसो भुइँमा अपमान सहेर हुर्किएका र आफ्नै आँखा अगाडि कम्पनी डुब्न लाग्दा पनि नहडबढाएका जेन्सेन ह्वाङ आज पनि भन्ने गर्छन् कि मानिसलाई असफलताको डरले नै अगाडि बढ्न प्रेरित गर्छ र दुःख–कष्टले नै मानिसको चरित्रको वास्तविक निर्माण गर्छ । नौ वर्षको उमेरमा अपरिचित देशमा अलपत्र परेका तिनै बालक आज विश्व प्रविधिका सम्राट बनेका छन्, र उनको जीवनले विश्वलाई “यदि संघर्ष सहने धैर्य र सपना पछ्याउने आँट छ भने, विगत जतिसुकै अन्धकार किन नहोस्, सिंगो दुनियाँलाई उज्यालो दिने सूर्य बन्न सकिन्छ” भन्ने सन्देश दिइरहेको छ ।