मानव सभ्यताको इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने संसार परिवर्तन गर्ने हरेक महान् क्रान्तिहरू सुरुमा कुनै न कुनै बहुलाहा जस्तै लाग्ने अस्वाभाविक सपना र असीम जोखिमको धरातलमै उभिएका देखिन्छन् । साधारण मानिसहरू जहाँ सम्भावनाको अन्त्य देख्छन्, एक विद्रोही मस्तिष्कले त्यहीँबाट नयाँ दुनियाँको सुरुवात देख्छ । सन् २००८ को डिसेम्बर महिना इलोन मस्कका लागि जीवनकै सबैभन्दा क्रूर र अन्धकारमय मोड बनेर उभिएको थियो । पेपाल जस्तै सफल प्रविधि साम्राज्य बेचेर कमाएको १८ करोड डलरको विशाल व्यक्तिगत सम्पत्ति अन्तरिक्षको अनन्त शून्यमा ‘स्पेस एक्स’ का लगातार तीनवटा रकेटहरू विष्फोट हुँदा र टेस्लाको भयावह उत्पादन समस्या समाधान गर्दा–गर्दा पूर्ण रूपमा स्वाहा भइसकेको थियो । उनी आर्थिक रूपमा यसरी टाट पल्टिएका थिए कि आफ्नै टाउको लुकाउने घरको भाडा तिर्न समेत साथीहरूसँग हात फैलाउनुपर्ने स्थितिमा पुगेका थिए ।
एकातिर व्यक्तिगत जीवनमा वैवाहिक सम्बन्धको सुखद अन्त्य भई सम्बन्धविच्छेदको पीडाले मन छिन्नभिन्न बनाएको थियो भने, अर्कोतिर विश्वभरका प्रतिष्ठित सञ्चारमाध्यम, वैज्ञानिक, विश्लेषक र आलोचकहरूले उनलाई एउटा मूर्ख, घमन्डी, सन्की र टाट पल्टिएको काल्पनिक व्यापारी भन्दै दयालाग्दो तरिकाले खिल्ली उडाइरहेका थिए । त्यो यस्तो कठोर र विचलित पार्ने समय थियो जहाँ साधारण त के, निकै हिम्मतवाला मानिसहरूले पनि जीवनसामु आत्मसमर्पण गर्थे वा आत्महत्याको बाटो रोज्थे । तर, हार मान्नु र निराशाको अगाडि घुँडा टेक्नु इलोनको चरित्र र शब्दकोशमै थिएन । सबै ढोकाहरू पूर्ण रूपमा बन्द भइसकेको र सम्पूर्ण विनाश निश्चित देखिएको त्यो अन्तिम घडीमा मस्कले जीवनकै सबैभन्दा आत्मघाती तर ऐतिहासिक निर्णय लिए ।
ऋाफ्नो अस्तित्व जोगाउन बाँकी रहेको अन्तिम व्यक्तिगत रकम पनि चौथो रकेट प्रक्षेपणमा होमिदिने । यदि त्यो चौथो प्रयास पनि असफल भएको भए, उनी र उनका अकल्पनीय सपनाहरू सधैँका लागि सडकमा बज्रिने थिए । तर सन् २००८ सेप्टेम्बर २८ को त्यो ऐतिहासिक दिन, प्रशान्त महासागरको एउटा सानो दुर्गम टापुबाट उडेको फाल्कन १ रकेटले पृथ्वीको भीषण गुरुत्वाकर्षणलाई तोड्दै सफलतापूर्वक अन्तरिक्षको कक्षामा प्रवेश ग¥यो । रकेटको त्यो उडान केवल धातुको एउटा यन्त्रको उडान मात्र थिएन, आधुनिक प्रविधिको इतिहासमै सबैभन्दा साहसी, विद्रोही र अकल्पनीय क्रान्तिको सुखद बिजारोपण पनि थियो ।
त्यही सफलताको बिन्दुबाट सुरु भयो परम्परागत विज्ञान र दशकौँ पुरानो सोच्ने शैलीलाई नै ध्वस्त बनाइदिने पहिलो महाक्रान्तिको रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट र अन्तरिक्ष यात्राको अत्यन्तै सस्तो युग । अमेरिकी अन्तरिक्ष संस्था नासा लगायत सम्पूर्ण वैज्ञानिक जगतले दशकौँदेखि रकेटलाई केवल एकपटक मात्र प्रयोग गरेर समुद्रमा खसाई नष्ट गरिने अर्बौँ डलरको वस्तु मान्दै आएका थिए । कसैले पनि वैज्ञानिक समाजको यस सर्वमान्य मान्यतामाथि प्रश्न उठाउने वा विकल्प खोज्ने आँटसम्म गरेका थिएनन् । तर, मस्कको विद्रोही मस्तिष्कले यो सर्वमान्य सिद्धान्तलाई ठाडै अस्वीकार गरिदियो । उनले रकेटलाई अन्तरिक्षको अत्यधिक तीव्र गति र घर्षणको तापक्रम सामना गराएर पुनः धर्तीमै ठाडो रूपमा, पूर्ण सुरक्षित अवतरण गराउने नवीन प्रविधि निर्माण गरे ।
सम्पूर्ण वैज्ञानिकहरूले असम्भव भनेको यो चमत्कार जब साकार भयो, तब अन्तरिक्षमा सामान वा भू–उपग्रह पठाउने खर्च एकाएक ९० प्रतिशतसम्मले घट्न पुग्यो । आज स्थिति यस्तो छ कि हिजो मस्कको सोचलाई पत्याउन नसक्ने र उपहास गर्ने नासा स्वयं आफ्ना अन्तरिक्ष यात्री र सामानहरू अन्तरिक्ष स्टेशनमा पठाउनका लागि स्पेस एक्सकै प्रविधिमा पूर्ण रूपमा निर्भर हुन बाध्य भएको छ । अन्तरिक्षको यो अभूतपूर्व विजयसँगै मस्कले धर्तीको यातायात व्यवस्थालाई नै पुरै बदलिदिने दोस्रो महाक्रान्ति छेडिदिए । विद्युतीय सवारीसाधनको विश्वव्यापी लहरको रुपमा । संसारका विशाल र पुराना कार निर्माता कम्पनीहरूले विद्युतीय गाडीलाई अत्यन्तै ढिलो, व्यापारिक रूपमा असम्भव, अव्यावहारिक र भविष्य नै नभएको एउटा बेकार प्रविधिका रूपमा हावामा उडाइदिएका थिए ।
तर, मस्कले टेस्ला मार्फत विद्युतीय गाडी भनेको ढिलो र बोरिङ होइन, बरु परम्परागत पेट्रोल र डिजेल कारहरूभन्दा पनि तीव्र गतिको, असाध्यै सुरक्षित, अत्याधुनिक र पूर्ण रूपमा स्वचालित हुन सक्छ भनेर संसारलाई नै स्तब्ध बनाउँदै प्रमाणित गरिदिए । टेस्लाको यो अकल्पनीय सफलताले पूरै विश्व कार उद्योगको जग नै हल्लाइदियो । आज नतिजा हाम्रै अगाडि छ । हिजो विद्युतीय गाडीको खिल्ली उडाउने विश्वका ठूला–ठूला कार निर्माताहरू आज आफ्ना पुराना इन्जिन प्लान्टहरू बन्द गरेर टेस्लासँग प्रतिस्पर्धा गर्न विद्युतीय सवारीसाधन बनाउन बाध्य भएका छन् ।
यी दुवै विशाल र युगान्तकारी सफलताको पछाडि इलोन मस्कको एउटा अद्वितीय मानसिक दृष्टिकोण लुकेको छ, जसलाई विज्ञान र दर्शनको भाषामा आधारभूत सिद्धान्तको सोच अर्थात “फस्र्ट प्रिन्सिपल थिन्किंग” भनिन्छ । मस्क कुनै पनि जटिल समस्यालाई अरूले कसरी गर्दै आएका छन् भन्ने परम्परागत, सामाजिक वा ऐतिहासिक तरिकाले कहिल्यै सोच्दैनन् । उनी समस्यालाई त्यसको आधारभूत भौतिक विज्ञान र गणितको तहसम्म लगेर टुक्रा–टुक्रा पारी सूक्ष्म विश्लेषण गर्छन् । अरूले “यो यसरी नै हुँदै आएको छ, त्यसैले यसरी नै हुनुपर्छ” भन्ने अन्धविश्वास र सामाजिक मान्यतालाई उनी पूर्ण रूपमा खारेज गर्छन् । यही सोच्ने क्रान्तिकारी शैलीका कारण उनले ब्याट्री र रकेट निर्माणमा लाग्ने खर्चलाई बजारको परम्परागत मूल्यभन्दा १० गुणासम्म सस्तो र प्रभावकारी बनाउन सफल भए ।
तर, यी सबै व्यवसाय, अर्बौँ डलरको साम्राज्य र प्रविधि क्रान्तिको पछाडि मस्कको अझ ठूलो, भावुक र दूरदर्शी ध्येय लुकेको छ, त्यो हो मंगल ग्रहमा मानव बस्ती बसाउने ऐतिहासिक र अमर अठोट । संसारका अधिकांश अर्बपतिहरू अथाहा पैसा कमाएपछि विलासी जीवन बिताउन, भव्य महल वा व्यक्तिगत टापुहरू किन्नमा रमाउँछन् । तर, मस्कको मूल सपना भनेको धर्तीमा कुनै ठूलो प्राकृतिक, जैविक वा आणविक विनाश आइपरेको खण्डमा मानव सभ्यतालाई पूर्ण रूपमा लोप हुनबाट जोगाउनु हो । त्यसैका लागि उनी मंगल ग्रहमा एउटा स्वयम्शासित, मानिसहरूको आत्मनिर्भर शहर बसाउन अहोरात्र खटिरहेका छन् । बाहिरबाट हेर्दा कुनै बहुलाहा वा काल्पनिक कथा जस्तो लाग्ने यही सपना नै उनको सम्पूर्ण सफलता र ऊर्जाको सबैभन्दा ठूलो इन्जिन बनिरहेको छ ।











प्रतिक्रिया