खेलप्रति समर्पणका पर्याय कुमार मोहनबहादुर शाही: दरबारको वैभवभन्दा अग्लो एउटा निष्कलंक ब्याडमिन्टन यात्रा

0
Shares

कहिलेकाहीँ जीवनका सबैभन्दा सुन्दर, जीवन्त र प्रेरणादायी कथाहरू कुनै काल्पनिक किताबका पानाहरूमा होइन, मानिसको आँखाको निश्छल चमक, अनुहारका गम्भीर रेखा र उसले चुपचाप समर्पण गरेको निष्कलंक कर्ममा कोरिएका हुन्छन् । नेपाली खेलकुदको विशाल र इतिहासले भरिएको आकाशमा त्यस्तै एउटा देदीप्यमान, सादगीपूर्ण र कालजयी नक्षत्रको नाम हो कुमार मोहन बहादुर शाही । शक्ति, पहुँच र राजपरिवारको वैवाहिक सम्बन्धले सहजै उपहार दिने असीम वैभव, आरामदायी छहारी र राजनीतिक प्रभावलाई छाडेर केवल एउटा स्वाभिमानी खेलाडीका रूपमा आफ्नो अलग पहिचान बनाउने यी महान् व्यक्तित्व नेपाली खेलकुदका सच्चा र मौन अभिभावक हुन् । तत्कालीन राजा महेन्द्रका प्रिय ज्वाइँ र अधिराजकुमारी शोभा राज्यलक्ष्मी देवी शाहका पति हुनु उनको पारिवारिक परिचयको एउटा पाटो अवश्य होला, तर खेलकुदको रातोमाटोमा उनी कुनै दरबारका ज्वाइँ मात्र थिएनन् । उनी त देशको माटोको सुगन्ध बोकेका, आफ्नै पसिना र समर्पणले इतिहास रच्ने ब्याडमिन्टनका अपराजित योद्धा थिए । जीवनको आठ दशक पार गरी ८३औँ वसन्तमा पाइला टेकिसक्दा पनि उनको मन अझै ब्याडमिन्टन कोर्टको रेखाभित्रै दौडिरहेको छ । वृद्ध हातहरू अझै ¥याकेट समात्न आतुर देखिन्छन् र नयाँ पुस्ताका खेलाडीलाई देख्दा उनको अनुहारमा उही साँचो, आत्मीय र निश्छल मुस्कान फक्रिने गर्छ ।

काठमाडौँको डिल्लीबजार जब नेपाली खेलकुदको जीवन्त मुटु र प्राणका रूपमा धड्किन्थ्यो, दशरथ रंगशालाको निर्माण हुनुअघिको त्यो स्वर्ण युगबाटै मोहन बहादुर शाहीको खेल–यात्राको अंकुरण भएको थियो । उनी केवल एउटा खेलको घेराभित्र मात्र सीमित भएनन्, फुटबलको हरियो मैदानदेखि टेबल टेनिस र टेनिसका कोर्टहरूसम्म उनको जादुमयी र बहुमुखी उपस्थिति रहने गथ्र्यो । तर, उनको आत्मा, धड्कन र जीवनको साँचो लय भने ब्याडमिन्टनमै बसेको थियो । सीमित साधन र स्रोतका बीच वि.सं. २००८ मा नेपाल ब्याडमिन्टन संघको स्थापना हुँदा राजा महेन्द्र स्वयं पहिलो अध्यक्ष थिए, र पछि तिनै राजाका प्रिय ज्वाइँले वैदेशिक भुइँमा छाती तन्काएर नेपालको झण्डा फहराए । सन् १९७० मा थाइल्यान्डको बैंककमा आयोजित एसियाली खेलकुदमा नेपालले पहिलोपटक ब्याडमिन्टनमा ऐतिहासिक सहभागिता जनाउँदा मोहन बहादुर शाही त्यो पहिलो पुस्ताको राष्ट्रिय टोलीका अभेद्य खम्बा थिए । किशोरबहादुर सिंह, गेहेन्द्रमान सिंह, बलराम केसी, पुरुषोत्तम केसी र ज्ञानबहादुर खड्का जस्ता सारथीहरूसँगै मलेसियाली दिग्गज प्रशिक्षक लीको कठोर तीन महिनाको प्रशिक्षणपछि बैंकक उड्न तयार भएको त्यो टोलीको यात्रा सहज थिएन । राजपरिवारसँग प्रत्यक्ष नाता जोडिए पनि खेलकुदमा उनलाई कुनै विशेष सुविधा वा आर्थिक छुट थिएन । चरम आर्थिक अभावका कारण ब्याडमिन्टन टोलीको सहभागिता नै रद्द हुने संघारमा पुगेपछि चन्दा संकलन गरेर टोली बैंकक पुगेको थियो । दरबारको ज्वाइँ भएर पनि अभाव र संघर्षको मैदानमा ओर्लेर देशका लागि पसिना बगाउनुपर्ने त्यो बाध्यतालाई उनले कहिल्यै आफ्नो कमजोरी वा स्वाभिमानको बाधा बन्न दिएनन् । बरु अझ दृढ र मुस्कुराउँदै कोर्टमा ओर्लिए ।

शाहीको सादगी, निष्ठा र इमानदारिताको कथा यतिमै सीमित छैन । उनले चाहेको भए राजपरिवारसँगको सामीप्य र पहुँचलाई प्रयोग गरेर सत्ता, शक्ति र ठूला पदहरू सजिलै हासिल गर्न सक्थे । शरद चन्द्र शाहभन्दा अगाडि नै तत्कालीन राजा वीरेन्द्रले उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सर्वोच्च पद ‘सदस्य–सचिव’ सम्हाल्न प्रत्यक्ष प्रस्ताव राखेका थिए । तर, उनी पद, प्रतिष्ठा र शक्तिको लोभमा कहिल्यै अल्झिएनन् । उनले राजाको प्रस्तावलाई अत्यन्त विनम्रतापूर्वक धन्यवाद दिँदै अस्वीकार मात्र गरेनन्, उल्टै खेलकुदभित्र विद्यमान विकृति र सुधारका पक्षहरूलाई निर्भिकताका साथ औँल्याए । सर्वशक्तिशाली राजासामु यस्तो निडर, स्पष्ट र निष्पक्ष दृष्टिकोण राख्ने हिम्मत केवल एउटा सच्चा र निष्कलंक खेलाडीले मात्र गर्न सक्थ्यो । उनले राजनीति र पदको मोहभन्दा माथि उठेर खेलको विशुद्ध आत्मालाई रोजे । सक्रिय खेलाडी जीवनपछि पनि उनी ओझेलमा परेनन् । देशका सुदूर कुनाकाप्चामा पुगेर खेलाडीहरूलाई खेल सामग्री बाँड्ने, कभर्डहल निर्माणमा व्यक्तिगत सहयोग पु¥याउने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने कार्यमा अहोरात्र खटिरहे । राजपरिवारका निकट सदस्यहरूमाझ धूम्रपान र मद्यपानबाट पूर्णतः टाढा रहने शाहीको एउटै सिद्धान्त थियो, खेलाडीको जीवन अनुशासित र मर्यादित हुनुपर्छ ।

उनको जीवनको सबैभन्दा चमत्कारिक, रहस्यमय र भावनात्मक अध्याय भने ब्याडमिन्टनसँगै जोडिएको छ, जसले उनलाई नयाँ जीवन नै दान दियो । वि.सं. २०५८ जेठ १९ को त्यो भयावह र कालो रात, जसले दरबार हत्याकाण्डको रूपमा सिंगो देशलाई शोकको सागरमा डुबायो, त्यस दिन दरबारको नियमित पारिवारिक भोजमा कुमार मोहन बहादुर शाही पनि जाने पूर्ण निश्चित थियो । तर, ब्याडमिन्टन खेल्दा घुँडामा लागेको गम्भीर चोट र त्यसको शल्यक्रियाका कारण उनी घरमै थलिन बाध्य भएका थिए । त्यही खेलकुदको चोट उनका लागि जीवनदान बन्यो र उनी त्यो कालरात्रिको प्रत्यक्ष नरसंहारबाट जोगिए । जबकि उनकी धर्मपत्नी अधिराजकुमारी शोभा उक्त घटनामा गोली लागेर गम्भीर घाइते भई चमत्कारिक रूपमा बचिन् । शाही आज पनि गहिरो भावुक हुँदै भन्छन् “यो मेरो दोस्रो जीवन हो, र यो जीवन मलाई ब्याडमिन्टन र खेलकुदले नै उपहार दिएको हो ।” अन्तर्राष्ट्रिय कोर्टमा पनि उनको खेलकौशलको सनसनीपूर्ण चर्चा हुने गथ्र्यो । सन् १९७३ मा चीनमा भएको आमन्त्रण प्रतियोगितामा चीनको टेबलटेनिस कूटनीतिकै बीच उनले तत्कालीन चिनियाँ नम्बर एक खेलाडी तान सियाङ हुईलाई पराजित गरेर सनसनी मचाएका थिए । एउटा नेपाली ¥याकेटले विश्वस्तरीय शक्तिलाई परास्त गर्दाको त्यो क्षण आज पनि नेपाली खेलकुदको स्वर्ण पाना बनेर सुरक्षित छ ।

काठमाडौँको कमलादीस्थित उनको निवासमा प्रवेश गर्दा लाग्छ, ब्याडमिन्टनको एउटा सिंगो ऐतिहासिक युग त्यहीँ जीवन्त भएर मुस्कुराइरहेको छ । उनले आफ्नै घरभित्र एउटा भव्य र व्यवस्थित ‘खेलकुद संग्रहालय’ बनाएका छन् । जहाँ भित्ताहरूमा इतिहास बोकेका पुराना फोटाहरू छन्, ¥याकेटहरूमा समयको स्पन्दन छ, र पदकहरूमा दशकौँ लामो संघर्षको कथा कोरिएको छ । यही अनवरत र ऐतिहासिक योगदानको सम्मान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको २३ औँ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा उनलाई सर्वोच्च खेल सम्मान ’लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट विभूषित गरियो । ८३ वर्षको उमेरमा भव्य मञ्चमा अवार्ड थाप्दै गर्दा, जसले विगतमा राजाको प्रस्तावलाई समेत सहजै पन्छाएका थिए, तिनै महान् खेलाडी आफ्ना आँसु थाम्न नसकेर बालक झैँ भक्कानिए । उनले आफ्ना प्रेरणाका स्रोत स्वर्गीय बुवा उज्वलबहादुर शाही र हरेक पाइलामा खेल्न प्रोत्साहन गर्ने प्यारी पत्नी शोभालाई सम्झिँदै गला अवरुद्ध पारेर भने,“मलाई माफ गरिदिनुहोला, म जे छु, मेरा बुवा र श्रीमतीकै कारणले छु ।” यो कुनै पराजयको आँसु थिएन, यो त आठ दशक लामो निष्ठा, समर्पण, संघर्ष र खेलप्रतिको असीम प्रेमको भावुक उद्वेलन थियो । कुमार मोहन बहादुर शाही केवल एउटा भूतपूर्व च्याम्पियन मात्र होइनन्, उनी नेपाली खेलकुदका जिउँदो इतिहास, स्वाभिमानका प्रतीक र भावी पुस्ताका लागि कहिल्यै नसकिने प्रेरणाका अमर स्रोत हुन् ।