नेपालीहरूको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत र छठ नजिकिँदै छन् । यी पर्व नेपाली समाजका धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनका अभिन्न अङ्ग हुन् । विशेषगरी हिन्दु धर्मावलम्बीहरूले श्रद्धा, आस्था र उत्साहका साथ मनाउने यी पर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् । मान्यजनबाट आशीर्वाद लिने, सानालाई माया र सद्भाव बाँड्ने, टाढिएका आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाएर खुसी साटासाट गर्ने अवसर पनि हुन् यी पर्व । तर, चाडपर्वको यही उल्लासमा हामीले बिर्सन नहुने एउटा महत्त्वपूर्ण पक्ष हो-स्वास्थ्य ।
दशैँमा घरघरमा विभिन्न परिकार पाक्छन् । माछा, मासु, अण्डा, मिठाई, सेलरोटी, खीर, घिउ, तेल र चिल्लो पदार्थको प्रयोग सामान्य दिनभन्दा बढी हुन्छ । रातो मासु, विशेषगरी खसीबोकाको मासु, धेरै नेपाली परिवारको दशैँको विशेष परिकार हो । मासु तारेर, भुटेर वा बढी तेल र मसलाको प्रयोग गरी पकाउने गरिन्छ । परिवारका सदस्य तथा पाहुनालाई मीठो खुवाएर खुसी पार्ने चाहना स्वाभाविक हो । तर, माया देखाउने नाममा कसैको स्वास्थ्यलाई जोखिममा पारिरहेका त छैनौँ भन्ने प्रश्नमा पनि गम्भीर हुन आवश्यक छ ।
स्वादका लागि खाने कि स्वास्थ्यका लागि पनि सोच्ने?
चाडपर्वमा स्वादिष्ट भोजन खानु गलत होइन । समस्या खानाको मात्रा, बनाउने तरिका, खाने आवृत्ति र व्यक्तिको स्वास्थ्य अवस्थालाई बेवास्ता गर्दा उत्पन्न हुन्छ। एकै दिन पटकपटक चिल्लो, बोसोयुक्त, गुलियो तथा नुन बढी भएका परिकार खाँदा शरीरमा अनावश्यक ऊर्जा र बोसोको मात्रा बढ्न सक्छ । अत्यधिक मदिरा सेवनले पनि स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यस्तो खानपानले विशेषगरी उच्च रक्तचाप, मधुमेह, मोटोपन, मुटुसम्बन्धी समस्या तथा मिर्गौलाका रोग भएका व्यक्तिलाई थप जोखिममा पार्न सक्छ ।
स्वस्थ व्यक्तिले पनि चाडपर्व भन्दैमा शरीरले धान्न नसक्ने गरी खानु उचित हुँदैन । लामो समय निष्क्रिय बस्ने, नियमित व्यायाम छाड्ने र एकैपटक धेरै खाना खाने बानीले अपच, पेट फुल्ने, अम्लपित्त तथा अन्य असहजता निम्त्याउन सक्छ । पहिलेदेखि औषधि सेवन गरिरहेका व्यक्तिले खानपान र औषधिको नियमिततामा विशेष ध्यान दिनुपर्छ ।
चिकित्सा विज्ञानले अस्वस्थकर खानपानलाई स्वास्थ्य जोखिमसँग जोडेको छ । यसको अर्थ मासु वा परम्परागत परिकार खानै हुँदैन भन्ने होइन । खानाको छनोट, मात्रा, पकाउने विधि र नियमित सन्तुलित आहारमा ध्यान दिनुपर्छ । रातो मासु बारम्बार धेरै मात्रामा खानुको सट्टा दाल, गेडागुडी, सागसब्जी, फलफूल तथा अन्य पोषिलो खाद्य पदार्थलाई पनि भोजनमा समावेश गर्नुपर्छ । मासु पकाउँदा देखिने बोसो हटाउने, धेरै तेलमा तार्नुभन्दा उसिन्ने, पकाउने वा कम तेलमा झोलिलो बनाउने विधि अपनाउनु राम्रो हुन्छ ।
मायाको नाममा अस्वस्थकर खाना नखुवाऔँ
दशैँमा आफन्तलाई घरमा बोलाउने, मीठो खाना खुवाउने र पाहुनाको सत्कार गर्ने हाम्रो सुन्दर परम्परा हो । तर, कसैले आफ्नो स्वास्थ्य अवस्थाका कारण कुनै परिकार खान नमिल्ने बताउँदा ‘एक दिन खाँदैमा के हुन्छ र?’, ‘हाम्रो घरमा आएर यति पनि नखाने?’ वा ‘दशैँमा त खानैपर्छ’ भनेर दबाब दिनु उचित होइन । मधुमेह भएका व्यक्तिलाई अत्यधिक गुलियो खुवाउनु, उच्च रक्तचाप भएका व्यक्तिलाई नुनिलो र चिल्लो परिकार खान जोड गर्नु वा कलेजोसम्बन्धी समस्या भएका व्यक्तिलाई मदिरा सेवन गर्न उक्साउनु माया होइन । स्वास्थ्य अवस्था बुझेर खानाको विकल्प दिनु नै वास्तविक आत्मीयता हो ।
हामीले आफन्तलाई माया गरेको सोचेर उनीहरूको स्वास्थ्यलाई हानि पु¥याउने व्यवहार गरिरहेका त छैनौँ? यो प्रश्न हरेक परिवारले आफैँलाई सोध्नुपर्छ । पाहुनाको सत्कार खानाको मात्रा बढाएर मात्र हुँदैन; उनीहरूको आवश्यकता बुझेर, स्वास्थ्यको सम्मान गरेर र सुरक्षित भोजन उपलब्ध गराएर पनि गर्न सकिन्छ।
खाद्य स्वच्छता र सुरक्षित भण्डारणमा ध्यान दिऔँ
चाडपर्वमा धेरै परिकार एकैपटक पकाउने र लामो समयसम्म राखेर खाने चलन हुन्छ । यस क्रममा खाद्य स्वच्छतामा ध्यान नदिँदा झाडापखाला, बान्ता तथा खाद्यजन्य संक्रमणको जोखिम बढ्न सक्छ । त्यसैले खाना पकाउनुअघि र खानुअघि साबुनपानीले हात धुने, सफा पानी प्रयोग गर्ने, काँचो मासु र पाकेको खानालाई छुट्टाछुट्टै राख्ने तथा मासु राम्ररी पकाएर खाने बानी बसाल्नुपर्छ । पाकेको खाना लामो समयसम्म कोठाको तापक्रममा खुला छाड्नु हुँदैन । बाँकी रहेको खाना समयमै सुरक्षित रूपमा चिस्याएर फ्रिजमा राख्नुपर्छ र पुनः खाँदा राम्ररी तताउनुपर्छ । गन्ध, रङ वा बनावट असामान्य भएको खाना नखानु नै सुरक्षित हुन्छ । सडकमा खुला राखिएका, म्याद गुज्रिएका वा गुणस्तरमा शङ्का भएका खाद्य पदार्थ खरिद तथा उपभोग गर्नु हुँदैन ।
तिहारमा मिठाई, सेलरोटी र अन्य गुलिया परिकारको मात्रा पनि बढ्न सक्छ । यस्ता परिकार खाँदा मात्रा नियन्त्रण गर्नु र फलफूल तथा अन्य पोषिलो खाद्य पदार्थलाई प्राथमिकता दिनु उचित हुन्छ । बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिको खानपानमा परिवारले थप ध्यान दिनुपर्छ ।
खानपानसँगै शारीरिक सक्रियता पनि आवश्यक
चाडपर्वमा बिदा हुने भएकाले परिवारसँग समय बिताउने अवसर मिल्छ । तर, दिनभरि बसेर खाने, टेलिभिजन हेर्ने वा मोबाइल चलाउने बानीले शारीरिक सक्रियता घटाउन सक्छ । दशैँको टीका लगाउन जाने, आफन्तसँग भेटघाट गर्ने र परिवारसँग रमाइलो गर्ने क्रममा सम्भव भएसम्म पैदल हिँड्ने, बिहान वा साँझ नियमित हिँडडुल गर्ने र पर्याप्त निद्रा लिने बानीलाई निरन्तरता दिनुपर्छ । मदिरा सेवन नगर्नु नै सबैभन्दा सुरक्षित विकल्प हो । सेवन गर्ने व्यक्तिले पनि यसलाई सामान्य वा अनिवार्य चाडपर्वको हिस्सा ठान्नु हुँदैन । मदिरा सेवन गरेर सवारीसाधन चलाउनु हुँदैन । चाडपर्वमा सवारी दुर्घटना, चोटपटक तथा अन्य आकस्मिक स्वास्थ्य समस्याबाट जोगिन ट्राफिक नियम पालना गर्न र आवश्यक सावधानी अपनाउनुपर्छ ।
दीर्घरोग भएका व्यक्तिले चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुपर्छ । चाडपर्वका कारण औषधि छुटाउने, आफूखुसी मात्रा घटाउने वा बढाउने गर्नु हुँदैन । स्वास्थ्यमा असामान्य समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।
आर्थिक क्षमताअनुसार खर्च गरौँ, स्वास्थ्यलाई प्राथमिकता दिऔँ
दशैँ र तिहारमा नयाँ लुगा, मिठो खाना, उपहार तथा अन्य सामग्री खरिद गर्ने चलन छ । तर, आफ्नो आर्थिक क्षमताभन्दा बढी खर्च गरेर ऋणको बोझ बोक्नु उचित होइन । चाडपर्वको खुसी महँगा परिकार र भव्य भोजमा मात्र सीमित हुँदैन । परिवारसँग बिताएको समय, आपसी सहयोग, सद्भाव र सन्तुष्टिमा पनि उत्तिकै खुसी प्राप्त गर्न सकिन्छ । हुनेले धेरै खाने र नहुनेले थोरै खानेभन्दा पनि सबैले आफ्नो शरीरको आवश्यकता, स्वास्थ्य अवस्था र आर्थिक क्षमताअनुसार खानपान तथा खर्चको व्यवस्थापन गर्नुपर्छ । पोषणका लागि महँगा खाद्य पदार्थ नै आवश्यक हुँदैनन् । स्थानीय रूपमा उपलब्ध दाल, गेडागुडी, सागसब्जी, फलफूल तथा अन्य पौष्टिक खाद्य पदार्थबाट पनि सन्तुलित भोजन तयार गर्न सकिन्छ ।
चाडपर्व हाम्रो संस्कृति र पहिचान हुन् । यी पर्वले परिवारलाई जोडून्, समाजमा सद्भाव बढाऊन् र जीवनमा खुसी थपून् । तर, असन्तुलित खानपान, अत्यधिक मदिरा सेवन, खाद्य अस्वच्छता र अनावश्यक खर्चका कारण चाडपर्व नै दुःखको कारण बन्नु हुँदैन । आजको स्वास्थ्यप्रतिको सचेतना भोलिको स्वस्थ जीवनको आधार हो । ‘आज खाऊँ, भोलिदेखि खान्न’ भन्ने सोच त्यागेर हरेक दिन शरीरको आवश्यकता र स्वास्थ्यको ख्याल गर्नुपर्छ । चाडपर्वमा पनि सन्तुलित भोजन, सुरक्षित खाना, नियमित शारीरिक सक्रियता र जिम्मेवार व्यवहारलाई प्राथमिकता दिनुपर्छ । जनस्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । हरेक दिन वा पर्वमा मीठोमसिनो खाऔँ, आफन्तलाई पनि खुवाऔँ, तर मात्रा र स्वास्थ्यको ख्याल गरौं । मायाको नाममा कसैलाई अस्वस्थकर खानपान गर्न बाध्य नबनाऔँ ।
यसपालिको दशैँ दशा नबनोस्, हरेक घरमा खुसी छाओस्, कोही बिरामी नपरून् र सबैले स्वस्थ, सुरक्षित तथा आनन्दमय चाडपर्व मनाउन पाऊन् । चाडपर्वको रमाइलोसँगै स्वास्थ्यको पनि ख्याल गरौँ ।











प्रतिक्रिया